‘ठूला दलबाट विकास असम्भव’

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकलाई विकसित र समृद्ध बनाउने दाबी गरेका छन् । राप्रपा म्याग्दीले मंगलबार म्याग्दी सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा उनले ठूला राजनीतिक दलहरूबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको भन्दै आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मत परिवर्तन गरी राप्रपालाई भोट दिन आग्रह गरे ।

‘मुलुकमा भ्रष्टाचार र अनियमितता मौलाउँदो छ । यसमा ठूला पार्टीका नेता र सरकारसमेत संलग्न छन्, त्यसैले उनीहरूबाट मुलुकमा विकास र समृद्धि सम्भव छैन । राप्रपाले भ्रष्टाचारलाई अपराध मानेको छ, यसपटक मुलुककै नेतृत्व गर्ने अभिमतका लागि आमनागरिकबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ,’ उनले भने । 

युवाशक्तिलाई वैदेशिक रोजगारमा पठाएर रेमिट्यान्सबाट मुलुक सञ्चालन गर्ने र मुलुकको आर्थिक घाटा बढाएर आर्थिक रूपमा कमजोर बनाउने काममा राज्यको नेतृत्वमा पुगेका नेता र दलहरू सक्रिय रहेको बताउँदै उनले मुलुकलाई सही मार्गमा अघि बढाउन नागरिकले समेत सही व्यक्ति र पार्टीलाई मतदान गर्नुपर्ने उनको भनाइ थियो । तीन दशकसम्म पटक–पटक अवसर पाउँदासमेत मुलुक बनाउन नसक्ने र असफल भएका व्यक्तिहरूलाई मतदान गरी वर्षौँसम्म पछुताउन नहुने उनले बताए । 

सुझावित समाचार