पेस्तोलको गोली र लागुऔषधसहित दुईजना पक्राउ

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकाको महेशबारी चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध र पेस्तोलको गोलीसहित दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–४ बस्ने ४१ वर्षीय ध्रुव बुढाथोकी र सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५ घर भई लहान नगरपालिका–५ बस्ने २५ वर्षीय अब्दुल मरासिकी पक्राउ परेका हुन्। 

पक्राउ गरिएका बुढाथोकी र मरासिकीलाई लागुऔषध, खरखजाना मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

सखुवानान्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकमा इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा स ११ प ५७२७ नम्बरको मोटरसाइकल चढेका बुढाथोकी र मरासिकीको साथबाट प्रतिबन्धित लागुऔषध र पेस्तोलको गोली बरामद गरेको हो। प्रनाउ बुढाथोकीका अनुसार उनीहरूको साथबाट एक सय एमएलको एक बोतल डाइलेक्स डिसी, एक थान नौ एमएमको पेस्तोलको गोली, २८ थान नाइट्राभेट, ३८ थान स्पास्मो प्रोक्सिभोन, नगद नौ हजार रुपैयाँ र तीन थान चेक बरामद भएको छ।

त्यसका साथै दुई थान मोबाइल, तीन थान बिलबुक, एक थान स्कारपियोको साँचोलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूमाथि लहानस्थित इलाका प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको छ।
 

सुझावित समाचार