जनकपुरमा ओलीले भने– एमालेबाहेकका दललाई नेता जोगाउन हम्मेहम्मे छ

सबै पार्टीलाई खुला रूपमा भन्न चाहन्छु, आफ्ना नेता तथा कार्यकर्तालाई सम्हाल्न सक्छौ भने सम्हाल, नत्र तिमीहरूको पार्टीमा पहिरो गइसक्यो, भत्किरहेका छन्, कसैले रोक्न सक्दैन । एमालेबाहेकका अरू कुनै पार्टी जोगिने अवस्था छैन ।

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीबाहेक अन्य दललाई नेता कार्यकर्ता जोगाउन हम्मेहम्मे परेको बताएका छन् । निर्वाचन नजिकिँदै जाँदा अन्य दलमा ठूलो पहिरो जाने दाबी गर्दै एमालेबाहेकका दलको अस्तित्व नै संकटमा पर्ने उनको दाबी छ ।

जनकपुरधाममा सोमबार आयोजित कार्यक्रममा ओलीले अहिले देशभरि एमालेको लहर रहेको भन्दै आफ्ना कार्यकर्तालाई सम्हाल्न दलहरूलाई चुनौती दिए । ‘सबै पार्टीलाई खुला रूपमा भन्न चाहन्छु, आफ्ना नेता तथा कार्याकर्तालाई सम्हाल्न सक्छौ भने सम्हाल, नत्र तिमीहरूको पार्टीमा पहिरो गइसक्यो, भत्किरहेका छन्, कसैले रोक्न सक्दैन । एमालेबाहेकका अरू कुनै पार्टी जोगिने अवस्था छैन,’ उनले भने ।

एमालेको डरले चुनावमा गठबन्धन गर्न सत्तारूढ दलहरू बाध्यात्मक अवस्थामा पुगेको उनको भनाइ थियो । ‘गठबन्धन त उहाँहरूलाई गर्नु नै पर्छ, गठबन्धन गरेनन् भने एमालेतिर नहेरे हुन्छ । एक्लाएक्लै चुनावमा लड्छु भनेर आँट नगरे हुन्छ,’ ओलीले भने, ‘गठबन्धन नगरिएपछिको अवस्था कस्तो हुन्छ भन्ने कुरा शेरबहादुरजी, पुष्पकमल दाहालजीलाई राम्रोसँग थाहा छ । उहाँहरूको चेहराबाट मुस्कान हराएको छ, छटपटि बढेको छ ।’

‘नागरिकता विधेयक सच्याएरल्याए पारित गर्न सहयोग गर्छौँ’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नागरिकतासम्बन्धी कानुनको विषयमा गठबन्धन दलहरूले एमालेविरुद्ध जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाए । नागरिकता विधेयकमा भएका कमीकजोरी सच्चाएर अहिले पनि प्रतिनिधिसभामा ल्याए एमाले पारित गराउन तयार रहेको उनको भनाइ थियो । 
एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले ०७४ को निर्वाचनमा एमालेले प्रतिनिधिसभामा दुईवटा मात्रै सिट ल्याएकोमा आगामी निर्वाचनमा कम्तीमा १० सिट ल्याउने दाबी गरे ।

जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य रुही नाज, प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव, लोसपाका नेता तथा पूर्वराज्यमन्त्री अरविन्द साह, कांग्रेस धनुषामा पूर्वउपसभापति सन्तोष यादवसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरूलाई ओलीले पार्टी प्रवेश गराएका थिए ।

See More On

सुझावित समाचार