निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दिएको बयानले कस्तो संकेत गरेको छ ?
उहाँले भनेका सबै कुरा झुटा हुन् भन्न मिल्दैन । किनभने, यहाँ परम्परा नै त्यही बसिसकेको छ । उहाँको रेकर्ड राम्रो भएको भए अर्कैै कुरा हुन्थ्यो । बार्गेनिङ गर्ने, मन्त्री बनाउने कुरामा उहाँ पनि अगाडि देखिनुभएकै हो । उहाँले जे बोलिरहनुभएको छ, त्यसले उहाँको हतोत्साहित मनस्थितिको संकेत गरेको छ ।
झुटो होइन भने उहाँले नाम लिएका व्यक्तिलाई पनि छानबिन र कारबाहीको दायरामा ल्याउनु आवश्यक पर्ला नि ?
यहाँ छानबिन कसले कसलाई गर्ने ? मन्त्रीले भ्रष्टाचार गरेको टेपरेकर्ड आउँदा त केही हुँदैन । यसमा पनि केही होला जस्तो लाग्दैन । यद्यपि, दलका नेताहरूको भने बुद्धि पलाउनुपर्ने हो । व्यवस्था र शासन प्रणाली सुधार्ने चेतना आएन भने भताभुंग हुन्छ । नेताले दुःख पाउँछन् ।
जबराको बयानले प्रणालीको विकृत रूप देखायो । अब आमूल सुधारका लागि के गर्नुपर्ला ?
नेता निष्पक्ष र लोकतन्त्रप्रति प्रतिबद्ध भइदियो भने सुधार हुन्छ । चुनाव खर्चिलो भयो, सिस्टम भ्रष्ट भयो । न्यायपालिका, कार्यपालिका, कर्मचारीतन्त्र, विश्वविद्यालयमा पनि त्यस्तै छ । देशको नेतृत्व गर्ने नेता नै ठिक नभएपछि देश कसरी सही ढंगले चल्छ ? नेतातन्त्र ठिक भयो भने मात्र सबै ठिक हुन्छ ।