चुनाव प्रचारमा मन्त्री जान नपाउने कुरा कमनसेन्सले पनि अनुपयुक्त : श्रेष्ठ

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन्।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा श्रेष्ठले बहुदलीय राजनीतिक प्रणालीमा नेताहरू नै मन्त्री हुने हुनाले उनीहरूले निर्वाचनको प्रचारप्रसार गर्न मिल्दैन भन्नु उपयुक्त नहुने उल्लेख गरे।

‘मैले बुझेसम्म यो आचारसंहिताको सवालमा मन्त्रीहरूले चुनाव प्रचारप्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो। यो कुरा मिल्दैन। राजनीतिक प्रणालीचाहिँ बहुदलीय हुने अनि त्यो प्रणालीले नेताहरू मन्त्री पनि हुने। तर, मन्त्रीहरूले चाहिँ चुनाव प्रचारप्रसार गर्न आफैँ उम्मेदवार छ भनेबाहेक अन्त नपाउने भन्ने कुरा त कमनसेन्सले मात्रै पनि मिल्दैन। यो उपयुक्त छैन,’ उनले भने।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचन आयोगले राज्यको स्रोत–साधनको  दुरुपयोग हुन नदिन आचारसंहिता कडाइका साथ लागू भने गर्नुपर्ने स्पष्ट पारे। उनले निर्वाचनमा समानुपातिक सहभागिताको प्रश्नमा संविधान नै संशोधन गरेर अघि बढ्नुपर्ने अवस्था रहेको दोहोर्याएका थिए।

सुझावित समाचार