लक्ष्मी ग्रुपले स्थापना गरेको लक्ष्मी विद्यापदक–२०७९ पोखरा छोरेपाटनस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसकी मनीषा रानाभाटले पाएकी छिन् । विद्यार्थीको हौसला बढाउन ग्रुपले स्थापना गरेको पदकको सञ्चालन पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको छ ।
संघको ६८औँ वार्षिक साधारणसभामा रानाभाटलाई सुन र चाँदीद्वारा निर्मित लक्ष्मी विद्यापदकसँगै नगद २५ हजार, प्रशंसापत्र, दोसल्ला र मालासहित सम्मान गरिएको थियो । रानाभाटले त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबिएस परीक्षामा कास्की जिल्लामा सर्वोत्कृष्ट अंक ल्याएकी थिइन् ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, संघका अध्यक्ष नारायण कोइराला, ग्रुपका कार्यकारी निर्देशकद्वय सुनील श्रेष्ठ र अन्जन श्रेष्ठले संयुक्त रूपमा रानाभाटलाई पदक वितरण एवं सम्मान गरेका थिए ।
०५५ सालदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत कास्की जिल्लामा रहेका क्याम्पसहरूमा अध्यनरत विद्यार्थीमध्ये व्यवस्थापन संकायतर्फ स्नातक र स्नातकोत्तर तहको परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गरेका दुईजना र पोखरा विश्वविद्यालयअन्तर्गत स्नातक तह बिबिएसमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक गरी तीनजनालाई लक्ष्मी विद्यापदक प्रदान गर्दै आएको ग्रुपका निर्देशक सुनील श्रेष्ठले जानकारी दिए । बाँकी दुईजनालाई पछि सम्मान गरिने भएको छ । ०३० सालमा पोखराबाट व्यवसाय सुरु गरेको ग्रुपले कन्फेक्सनरी, डेरी, प्लास्टिक हुँदै बहुराष्ट्रिय कम्पनी हुन्डाईको अधिकारिक विक्रेताका रूपमा काम गर्दै आएको छ ।
चार दशक लामो इतिहास बोकेको ग्रुपले स्थापनाकालदेखि नै समाजका विभिन्न क्षेत्रहरूमा सहयोग अनि प्रोत्साहन गर्ने काम गर्दै अघि बढिरहेको ग्रुपका निर्देशक अन्जन श्रेष्ठले जानकारी दिए ।