७३ वर्षीय चार्ल्स तृतीय बेलायतका नयाँ राजा

शनिबार, २५ भदौ, २०७९
डिजिटल संस्करण

बेलायतमा सबैभन्दा लामो समय शासनमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन् ।

महारानी एलिजाबेथ द्वितीय र प्रिन्स फिलिपका जेठा छोराको रूपमा ७३ वर्षीय चार्ल्स ब्रिटिस सिंहासनका उत्तराधिकारी थिए । चार्ल्सले महारानी एलिजाबेथ द्वितीयको उत्तराधिकारी हुन लगभग आफ्नो सम्पूर्ण जीवन पर्खिनुपर्‍यो । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन् । 

चार्ल्स फिलिप आर्थर जर्ज १४ नोभेम्बर १९४८ मा बकिंघम प्यालेसमा जन्मिएका थिए । जन्मेसँगै उनी सिंहासनको दोस्रो पंक्तिमा थिए । हजुरबुबा राजा जर्ज छैटौँको ६ फेब्रुअरी सन् १९५२ मा देहान्त भएपछि चार्ल्सकी आमा एलिजाबेथ द्वितीय बेलायतकी महारानी घोषित भइन् भने चार्ल्स राजसिंहासनको स्वाभाविक उत्तराधिकारी बने । चार्ल्सकी अध्यापिका क्याथरिन पिबल्सका अनुसार एक किशोरका रूपमा उनी अति संवेदनशील, एक्लै बस्न रुचाउने, अत्यन्त लजालु थिए । 

राष्ट्रप्रमुखको रूपमा आफ्ना आमाबाबु लामो समयसम्म विदेश भ्रमणमा रहँदा उनी आफ्नी हजुरआमा (राजा जर्जकी विधवा रानी एलिजाबेथ), उनका गुरु र उनका ठूलो बुबा लर्ड लुइस माउन्टव्याटनको साथमा हुर्किए । सन् १९५८ मा ९ वर्षको उमेरमा उनलाई प्रिन्स अफ वेल्सको उपाधि दिइयो, जुन उपाधि १४आँै शताब्दीको सुरुवातदेखि नै उत्तराधिकारीका लागि आरक्षित छ ।

डिग्री उपाधि प्राप्त गर्ने पहिलो शाही उत्तराधिकारी 
 १३ वर्षको उमेरबाट चार्ल्स गोर्डनस्टाउन स्कुल जान थाले, जहाँ उनका बुबाले पढेका थिए । तर, उक्त विद्यालयमा उनी सन्तुष्ट हुन सकेनन् । त्यहाँ उनले एक्लो महसुस गरे । उनलाई उक्त विद्यालयप्रति नै घृणा जागेको थियो । त्यहाँ व्यतित गरेका क्षणलाई चार्ल्स ‘नरक र जेलको सजाय’ भन्थे । त्यसपछि सन् १९६६ मा उनी एक अस्ट्रेलियाली व्याकरण स्कुल गए । जसले उनलाई केही परिपक्व बनायो । विद्यालय शिक्षा पूरा गरेपछि उनी क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजमा भर्ना भए । सन् १९७० मा निम्न ‘सेकेन्ड क्लास’ सम्मानसहित विश्वविद्यालयको डिग्री उपाधि प्राप्त गर्ने पहिलो शाही उत्तराधिकारी बने ।

चार्ल्सले सन् १९६९ मा केर्नारफोन क्यासलमा प्रिन्स अफ वेल्स उपाधि लिनुअघि वेल्स सिकेका थिए । सन् १९७१ देखि १९७६ सम्म नौसेनामा सेवा गरे । नौसैनिकका रूपमा क्यारेबियन सागरमा आठ महिनासम्म टाढा रहँदा उनकी प्रेमिका क्यामिला स्यान्डले आफ्नो पुरानो प्रेमी एन्ड्रयु पार्कर बाउल्ससँग विवाह गरिन् । यसले चार्ल्सलाई आघात भयो । एक दक्ष चालकको रूपमा चार्ल्सले आफ्नो छवी ‘एक्सन म्यान’को बनाए । उनी विमानबाट हाम फाल्नेदेखि हावामा तैरिनेसम्मका कला देखाउँथे । नौसेनाबाट अलग भएपछि उनले प्रिन्स ट्रस्ट स्थापना गरे । उनको ट्रस्टबाट धेरै मानिस लाभान्वित भएका छन् । त्यसले आठ लाख २५ हजारभन्दा बढी विपन्न युवालाई पेसा खोज्न मद्दत गरिसकेको छ । ‘म सधैँ सबैको ख्याल गर्दै हुर्किएको हुँ,’ चार्ल्स भन्छन् ।  

चार्ल्सको डायनासँग विवाह र सम्बन्धविच्छेद
चार्ल्सको व्यक्तिगत जीवनमा सन् १९७० को दशकमा थुप्रै प्रेमिका आए र गए । उनले सन् १९७९ मा आफ्नै शिक्षककी नातिनी अमान्डा नाचबुललाई विवाहको प्रस्ताव राखे, तर उनले अस्वीकार गरिन् । विवाह गर्न बढ्दो दबाबबीच ३२ वर्षीय राजकुमारले छोटो प्रेम सम्बन्धपछि सन् १९८१ को फेब्रुअरीमा १९ वर्षीया लेडी डायना स्पेन्सरलाई विवाहको प्रस्ताव गरे । लन्डनको सेन्ट पलको क्याथेड्रलमा सोही वर्षको २९ जुलाईमा उनीहरूको ‘परीकथा’को शैलीमा विवाह भयोे । विश्वव्यापी रूपमा टेलिभिजनमा प्रसारण गरिएको उक्त विवाह शताब्दीकै उत्कृष्ट समारोहमध्ये एक थियो । डायना र चार्ल्सबाट सन् १९८२ मा प्रिन्स विलियम र १९८४ मा ह्यारीको जन्म भयो । डायनाले राजशाही सिक्ने प्रयत्न गर्दागर्दै उनीहरूको सम्बन्ध बिग्रिँदै गयो । उनीहरू वैवाहिक सम्बन्धबाट टाढा हुँदै गए । 

चार्ल्सले पुरानो प्रेमी क्यामिलासँगको सम्बन्धलाई पुनः जगाए । सन् १९९२ मा डायनाबारे एउटा पुस्तक प्रकाशित भयो, त्यसको ६ महिनापछि यी दम्पती अलग भए । सन् १९९५ को नाेभेम्बरमा डायनाको एक आक्रामक अन्तर्वार्तापछि उनकी आमाले उनीहरूलाई सम्बन्धविच्छेद गर्न आग्रह गरिन् । सन् १९९६ को अगस्टमा चार्ल्स र डायनाको सम्बन्धविच्छेद भयो । सन् १९९७ मा पेरिसमा भएको एउटा कार दुर्घटनामा डायनाको मृत्यु भएपछि चार्ल्सले उनको शव पेरिसबाट ल्याए र पूर्ण शाही सम्मान प्रदान गर्न आग्रह गरेका थिए ।

सन् २००५ मा चार्ल्सले आफ्नो पुरानो प्रेमिका क्यामिलासँग एक नागरिक समारोहमा विवाह गरे । क्यामिला डचेस अफ कर्नवाल भइन् । चार्ल्स राजा हुँदा क्यामिलाको भूमिका के हुने भन्ने अन्योल भएकाले सन् २०२२ को सुरुमै महारानी एलिजाबेथले उनलाई ‘रानी कन्सोर्ट’को उपाधि दिएकी थिइन् । अन्तर्मुखी चार्ल्स स्पष्ट वक्ता मानिन्छन् । 

See More On

सुझावित समाचार