अर्थशास्त्रीले जसरी सोच्न के पढ्ने ?

शनिबार, २५ भदौ, २०७९
डिजिटल संस्करण

द इकोनोमिस्ट 
अर्थशास्त्रको प्रतिष्ठा निरस, संवेदनाविहीन र दिक्क लाग्दा समीकरणहरूले भरिपूर्ण विषयका रूपमा छ । तर, यथार्थमा भने यो निकै रोचक हुन्छ । एउटा अर्थशास्त्रीले झैँ सोच्दा मैले यसका दुइटा मुख्य विशेषता देख्छु । पहिलो, अर्थशास्त्रले ट्रेड–अफ (कुनै कुरा पाउन त्यसको मूल्य तिर्नुपर्छ भन्ने मान्यता) बारे सोच्छ ।

अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त अमेरिकी अर्थशास्त्री मिल्टन फ्रिडम्यान निःशुल्क भन्ने चिजै हुँदैन (नो सच थिङ्स एक अ फ्री लन्च) भन्छन् । कसैले कुनै चिज प्राप्त गर्दा उसले त्यसको बदलामा कोही मूल्य चुकाइरहेको हुन्छ ।

तपाईं आफ्ना साथीहरूसँग बाहिर जानुभयो भने तपाईंसँग जिम जाने समय हुँदैन । यदि कुनै अर्थतन्त्रमा ज्याला बढ्यो भने लाभांश घट्न वा मुद्रास्फीति बढ्न सक्छ । दोस्रो विशेषता भनेको यसले सम्भव भएसम्म चिजहरूमा अंकहरूको लेबल टाँस्ने प्रयास गर्छ । 

अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त अमेरिकी अर्थशास्त्री मिल्टन फ्रिडम्यान नि:शुल्क भन्ने चिजै हुँदैन भन्छन् । कसैले कुनै चिज प्राप्त गर्दा उसले त्यसको बदलामा केही मूल्य चुकाइरहेको हुन्छ । तपाईं आफ्ना साथीभाइसँग बाहिर घुम्न जानुभयो भने तपाईंसँग जिम जाने समय हुँदैन ।

हामीले चीनको लकडाउन कडा भन्दा हाम्रो वास्तविक तात्पर्य के हुन्छ ? यदि तपाईं कामको गुणस्तर हरेक वर्ष ह्रास आएको ठान्नुहुन्छ भने त्यसलाई तपाईं कसरी मापन गर्दै हुनुहुन्छ ? कहिलेकाहीँ अवधारणाहरूलाई परिणाम (अंकमा मापन गरेर)मा बताउन कठिन होला, तर मापनको प्रयत्न गर्नु सधैँ नै राम्रो कुरा हो । द इकोनोमिस्टको कभरेजमा हामी सधैँ यी दुई पाठलाई ध्यानमा राख्ने प्रयास गर्छाैं । तपाईंलाई यस तरिकाले सोच्न मद्दत गर्ने पाँच पुस्तक यस्ता छन् :

१. क्यापिटालिज्म एन्ड फ्रिडम : मिल्टन फ्रिडम्यान

फ्रिडम्यान चरम उदारवादी थिए भन्ने तथ्यलाई बेवास्ता गरिदिनोस्, त्यसले केही फरक पार्दैन । अक्सर उनका तर्क यथार्थसँग मेल खाँदैन थिए । यसले पनि फरक पार्दैन । ‘ट्रेड–अफ’ बारे विचार गर्न र सिक्न सम्भवतः यो पुस्तक उत्कृष्ट विधि हुन्छ किनभने संसारका बारेमा फ्रिडम्यान सधैँ त्यसरी नै सोच्ने गर्थे । उदाहरणका लागि न्यूनतम पारिश्रमिक (ज्याला)लाई नै लिऔँ । फ्रिडम्यान न्यूनतम ज्याला प्राप्त गर्ने मानिसले अरूले भन्दा धेरै पैसा लैजान्छ भन्ने कुरा स्वीकार गर्छन् । तर, त्यहाँ पनि ‘ट्रेड अफ’को कुरा आइहाल्छ । उनी सोध्छन्, ‘न्यूनतम ज्यालाका कारण श्रमबजार बाहिर पुगेका मानिस के हुन् त (यो न्यूनतम ज्यालाको मूल्य चुकाइएको होइन त) ?’ अथवा औषधीकै नियमन लिऔँ । उनी यसलाई अनावश्यक भन्छन् । हो, परीक्षण र नियमनका झन्झटिला प्रक्रिया पार गर्न लगाएर मात्रै औषधीहरूलाई बजारमा आउन दिँदा खतरनाक औषधीहरू कम बेचिन पाउने भएकाले केही मानिसको जीवन बचाउन सकिन्छ । तर, सुरक्षित औषधीका लागि गरिएको ढिलाइको पनि मूल्य चुकाउनुपर्ने हुन्छ, केही मानिसलाई औषधीविनै मर्न दिएर । 

२. द वर्ल्डली फिलोसोफर्स : रोबर्ट हेलब्रोनर 

यो पुस्तकमा रोबर्ट प्रफुल्लित कुराकानीको शैलीमा पाठकलाई प्रारम्भिक अर्थशास्त्रीका अवधारणा किन क्रान्तिकारी थिए भनेर व्याख्या गर्दै उनीहरूका रचनाको परिभ्रमण गराउँछन् । आदम स्मिथसँग पर्याप्त तथ्यांक थिएन, तर उनले सम्भव भएसम्म आफ्ना तर्कमा अंकलाई स्थान दिएका छन् । कार्ल मार्क्सले पनि यसै गरे, उनले पनि अखबार र संसद्का प्रतिवेदनबाट तथ्यांक संकलन गरेका थिए । मार्क्सलाई पनि ‘ट्रेड–अफ’मा धेरै नै विश्वास थियो । दृष्टान्तका लागि उनी समाजवादी रामराज्य (युटोपिया)मा पुग्न विश्वले केही समय पुँजीवादलाई सहनुपर्छ भन्ने तर्क गर्थे । अर्थात् रामराज्यको सुखको मूल्य पुँजीवादलाई सहेर चुकाउनुपर्छ भन्थे । 

मार्क्सलाई पनि ‘ट्रेड–अफ’मा धेरै नै विश्वास थियो । उनी समाजवादी रामराज्यमा पुग्न विश्वले केही समय पुँजीवादलाई सहनुपर्छ भन्ने तर्क गर्थे । अर्थात्, रामराज्यको सुखको मूल्य पुँजीवादलाई सहेर चुकाउनुपर्छ भन्थे ।

३. अफ्रिका : ह्वाई इकोनोमिस्ट गेट इट रङ : मोर्टेन जेरभेन

अंक (परिमाण)को प्रयोग गर्नु धेरै ठूलो कुरा हो, तर यसमा तपाईं सावधान रहनुपर्छ । अफ्रिकी अर्थतन्त्रका विशेषज्ञले लेखेको यो पुस्तकले अंक कति महत्वपूर्ण हुन्छ भन्ने देखाउँछ । दृष्टान्तका लागि देशको एउटा भागको तुलनामा अर्को भागमा सामाजिक विश्वास किन उच्च छ भनेर व्याख्या गर्न थुप्रै अर्थशास्त्रीले अफ्रिकाको तथ्यांकलाई विशाल सांख्यिकीय मोडेलमा हालेका छन् । तर, यीमध्ये धेरैजसो अनुसन्धान कमसल तथ्यांकमा आधारित भए । जस्तो कि अन्तर्राष्ट्रिय मुद्रा कोषलाई विश्वास गर्ने हो भने सन् २०१५ मा दक्षिणी सुडानको कुल गार्हस्थ उत्पादन (जिडिपी) अघिल्लो वर्षको भन्दा परिवर्तन भएन तर विश्व बैंकलाई विश्वास गर्ने हो भने ११ प्रतिशतले संकुचन भयो । यो पुस्तकले आफ्ना तथ्यांकको स्रोतका सीमाबारे पहिले नै जानकार हुनुपर्छ भन्ने पाठ सिकाउँछ । अर्को पाठ, काल्पनिक विश्लेषणको न्यून प्रयोग गर्ने अर्थात् वर्णनात्मक तथ्यांकको प्रयोग गर्ने । यो विधि कम प्रभावकारी भए पनि परीक्षणमा यसका नतिजा खरो उत्रिन सक्छ ।

४. क्यापिटालिज्म, एलोन : ब्रांको मिलानोभिक

पुँजीवाद र अर्थशास्त्रीहरूको सोच्ने तरिकाले संसारमाथि कसरी विजय प्राप्त गरेको छ भन्ने बुझ्नका लागि यो पढ्नैपर्ने पुस्तक हो । सन् १९९० को दशकको सुरुवातमै पुँजीवादी प्रणालीले कम्युनिस्ट प्रणालीलाई पराजित गरिसकेको थियो । तर, आज धेरै मानिस ‘सहस्राब्दी समाजवाद (उदीयमान नयाँ वामपन्थी चिन्तन)’ जस्तो नयाँ प्रणालीमा जान इच्छा देखाउँछन् । वामपन्थी चिन्तक मिलानोभिक यी भावनाप्रति सहानुभूति प्रकट गर्छन् । अन्ततः उनी पनि थुपै्र क्रान्तिकारी सिफारिसलाई अपत्यारिलो पाउँछन् । समाजवादीहरूले परिकल्पना गरेको तहमा ‘डि–मार्केटाइज (अबजारीकरण)’को प्रयास गर्ने देश अन्य तरिकाले अस्थिर र असन्तुष्ट हुन्छ भन्छन् उनी । कार्य हप्तालाई छोटो बनाउने दिशामा जाँदा उक्त देश आफ्ना छिमेकीभन्दा गरिब बन्ने दृष्टान्त उनी पेस गर्छन् । तर, जनताले कहिलेसम्म यसलाई धान्न सक्लान् ? उनको पुस्तकले पुँजीवाद पूर्णभन्दा धेरै पर रहेको, तर बृहत् रूपमा काम गर्ने प्रणाली पनि यो मात्रै हो भन्ने धारणालाई डगाउन एकदमै कठिन छ भन्ने पनि पुस्तकले देखाउँछ ।

५. फ्रिकोनोमिक्स : ए रग इकोनोमिस्ट एक्सप्लोर्स द हिडन साइड अफ एभ्रिथिङ  
यो निकै प्रसिद्ध पुस्तक हो । तपाईंले पढ्नुभएको छैन भने पढ्नैपर्ने पुस्तक हो । आधारभूत रूपमा यो पनि ‘ट्रेड–अफ’का बारेमा छ । यसले प्रशस्त रमाइला उदाहरण पेस गर्छ । नीतिहरूले कसरी अनपेक्षित परिणाम निम्त्याउन सक्छन् भनेर देखाउँछ । उदाहरणका लागि एउटा बाल विद्यालयले बालबच्चा ढिलो लिन आउने अभिभाकलाई जरिवाना लगाउन थालेपछि उल्टो अरू अभिभावक पनि ढिलो लिन जान थालेको पाइयो । जरिवानाले अभिभावकलाई समयमै उपस्थित हुुनुपर्ने नैतिक दायित्वबाट पन्छिन दियो । उनीहरूले यसलाई मूल्यको रूपमा लिए । लागुऔषधका कारोबारी किन आफ्ना अभिभावकसँगै बस्छन्, के गर्भपतनलाई कानुनी मान्यता दिँदा अपराध घट्छ त भन्ने जस्ता उदाहरण पुस्तकमा समावेश छन् । यो पुस्तक हरेकको रुचिको विषय नहुन सक्छ । यसका केही अध्ययनमाथि प्रश्न खडा भएका छन् । तर, यसको समग्र पाठले भन्छ : कुनै कुरा अर्थपूर्ण छ भने त्यो प्रोत्साहन (प्रतिफल) हो । 

सुझावित समाचार