आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ सुरु भएको छ । भृकुटीमण्डपको प्रदर्शनीस्थलमा सुरु भएको एक्सपोको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् ।एक्स्पो उद्घाटनपछि मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार विस्तार भइरहेको देख्दा खुसी लागेको बताए । फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा यसलाई थप तीव्रता दिनका लागि सरकार र व्यवसायी मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
एक्स्पो आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले व्यवसायीको पहलले मात्र निर्यातको बाटो पहिल्याउन सजिलो नभएकाले राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि नै एक्स्पो आयोजना गरिएको उनको भनाइ थियो ।पाँच दिनसम्म चल्ने एक्स्पोले फर्निचर तथा फर्निसिङका आयातीत उत्पादनलाई प्रतिस्थापन गर्न टेवा पुर्याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
प्रदर्शकहरूले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरू सञ्चालन गर्ने जनाइएको छ । विभिन्न ब्रान्डका प्रदर्शकहरूले वस्तु तथा सेवा हेरी अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेजलगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध गराउने जनाइएको छ । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजी पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको सहयोग रहेको जनाइएको छ ।
एक्स्पोमा किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रूपमा रहेको जनाइएको छ ।