दक्षिण एसियाका मुलुकहरूलाई एक–आपसमा जोड्ने पूर्वाधारको विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बिहीबारबाट काठमाडौंमा सुरु भएको चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलनमा वक्ताहरूले सो कुरा बताएका हुन् ।दक्षिण एसियाली मुलुकभित्र हुने विभिन्न व्यापार तथा सेवाहरूलाई सहज बनाउन एक–आपसमा कनेक्टिभिटी बढाउने पूर्वाधार विकास गर्नुपर्ने उनीहरूको भनाइ छ ।
सडक, रेलमार्ग, विद्युत् प्रसारण लाइनजस्ता पूर्वाधारमार्फत दक्षिण एसियाका मुलुकहरूबीच कनेक्टिभिटी बढाउनुपर्ने उनीहरूले बताए । त्यसबाट नेपालले पनि ठूलो फाइदा लिन सक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त आयोजनामा बिहीबारदेखि उक्त सम्मेलन सुरु गरेका छन्, जुन आज (शुक्रबार)सम्म हुनेछ ।
सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि मुलुकलाई आर्थिक विकासमा लैजाने गरी ऐन–कानुनको संशोधन गर्ने बताए । ‘संविधान बन्नुअघि राजनीतिक परिवर्तन तथा स्थायित्व ल्याउन ठूलो मिहिनेत गरेका थियौँ । साथै, सविधान बनेपछि मुलुकलाई आर्थिक विकासमा अघि बढाउने भनिएको थियो, तर त्यसो भएन,’ उनले भने, ‘आगामी मंसिरमा संविधान बनेपछिको दोस्रो चुनाव हुँदै छ । त्यसपछि मेरो जीवन आर्थिक विकास, सामाजिक न्याय र समानताका लागि समर्पित हुन्छ ।’
यस्तै, परिसंघका अध्यक्ष विष्णु अग्रवालले पूर्वाधार विकासमा फड्को मार्न पुँजीगत खर्च बढाउनुपर्ने बताए । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासमा सहयोग पुर्याउने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको बताए । जेसिबी भारतका सिइओ दीपक सेटीले सडकलाई मात्र पूर्वाधारका रूपमा हेर्न नहुने बताए । एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लभासाले नेपालको पूर्वाधारमा लगानी गर्न आफूहरू इच्छुक रहेको उनको भनाइ थियो । यस्तै, परिसंघका पूर्वअध्यक्ष सतिशकुमार मोरले विगतका तीन सम्मेलनबाट निर्णायक तहले समयमा उचित निर्णय नलिने देखाएको बताए । फलस्वरूप आर्थिक विकास प्रभावित भएको उनको भनाइ छ । सम्मेलनको दोस्रो दिन शुक्रबार प्रदेशका मुख्यमन्त्री, पूर्वाधारविज्ञ, अर्थशास्त्री र नीति–निर्माताबीच छलफल हुनेछ ।