नेपाल चेपाङ संघले बुधबार चितवनमा सामूहिक रूपमा न्वाँगी पर्व मनाएको छ । तत्कालीन संविधानसभाका सदस्य एवं नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । उनका अनुसार यो पर्व चेपाङहरूले नयाँ अन्न खाने दिन पनि हो ।
वर्ष दिनमा कम्तीमा नौ महिना जंगली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने गर्छन् । भिरपाखामा बस्ने यस जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम (न्वाँगी) पर्व मनाउने गरिएको इतिहास छ । छोनाममा चेपाङ झाँक्री (पान्दे)हरूले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङहरू कुनै काम नगरी रमाइलो गर्छन्। नाताकुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन्। छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भासामा (छोनाम) भन्छन् भने खस नेपाली भासामा न्वाँगी भनिन्छ ।
चेपाङ समुदायले प्रत्येक वर्षको भदौ २२ गते मनाउने छोनाम पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको थियो । बागमती प्रदेशले चेपाङ बाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा अबदेखि प्रत्येक वर्षको भदौ २२ गते सार्वजनिक बिदा दिनेछ । चितवनमा यो समुदायको बसोवास बढी रहेको बताइन्छ । जहाँ चेपाङको जनसंख्या २८ हजार नाै सय ८९ छ । दोस्रो मकवानपुरमा १९ हजार दुई सय ३३ र तेस्रो धादिङमा १४ हजार चार सय ९२ छ । यस्तै, गोरखामा तीन हजार चार सय ५४ चेपाङ समुदायको बसोवास छ ।