तीन दशकदेखि सरकारले स्थायी शिक्षकको व्यवस्था नगरेको भन्दै साबिक उच्च माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूले प्रधानमन्त्री र मन्त्रीहरूको मोबाइल सन्देशमार्फत ध्यानाकर्षण गराएका छन् ।
सरकारले संघीय शिक्षा ऐन जारी गर्ने तयारी गरेलगत्तै आन्दोलन घोषणाको तयारीमा रहेका उनीहरूले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र शिक्षामन्त्री देवेन्द्र पौडेलको मोबाइल नम्बरमा सन्देश पठाउँदै ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री र मन्त्रीहरूको मोबाइल नम्बरमा पठाइएको सन्देशमा लेखिएको छ, ‘कक्षा १२ सम्मको निःशुल्क शिक्षा, तर स्थायी शिक्षक शून्य किन प्रधानमन्त्रीज्यू ?’ कक्षा ११ र १२ मा करिब साढे सात लाख विद्यार्थी अध्ययन गर्दै आए पनि सरकारले ३० वर्षदेखि एकजना पनि स्थायी शिक्षक उपलब्ध नगराउँदा वर्षौँदेखि अध्यापनरत अनुदान, अस्थायी र आंशिक शिक्षकको भविष्यसमेत अनिश्चित र असुरक्षित भएको भएको उनीहरूको भनाइ छ । ११ र १२ कक्षामा अध्यापनरत शिक्षकहरूको ट्रेड युनियन संगठन माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)का अध्यक्ष दीपकराज सुवेदीले वर्षौँदेखि उठाउँदै आएको मागलाई सरकारले बेवास्ता गर्दै आएकाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गर्ने तयारी गरिएको बताए ।
आन्दोलन घोषणाअघि उनीहरूले प्रधानमन्त्री देउवासहित सात सय ५३ वटै स्थानीय तहका पालिका प्रमुख, जिल्ला र पालिका शिक्षा समन्वय शाखा, जिल्ला प्रशासन कार्यालय, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालयलाई १६ बुँदे मागसहितको ध्यानाकर्षणपत्र बुझाएका छन् । उनीहरूले कक्षा ११ र १२ मा अध्यापनरत अस्थायी दरबन्दी र अनुदानका शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी प्रक्रियामा भाग लिने मौका दिन, महाश्रम शर्मा संयोजक रहेको उच्चस्तरीय शिक्षा कार्यदलको सुझावअनुसार तत्काल अस्थायी दरबन्दी सिर्जना गरी तत्कालका लागि आंशिक शिक्षकहरूलाई ज्येष्ठताका आधारमा पदस्थापन गर्न, मर्यादा क्रम निर्धारण गरी दैनिक पिरियड संख्या निर्धारण गर्नलगायत माग गरेका छन् ।