माओवादी केन्द्र संखुवासभाबाट श्रीमान–श्रीमती नै सिफारिस

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि संखुवासभाका नेकपा माओवादी केन्द्रबाट श्रीमान–श्रीमती नै उम्मेदवार सिफारिस भएका छन्। नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य राजेन्द्र कार्की (नवीन) र समानुपातिकतर्फ उनकै श्रीमती इन्दिरा मिश्र (कार्की)लाई सिफारिस गरेको छ। 

नवीनलाई प्रदेश सभाको प्रत्यक्षतर्फ  पनि गरी दुवैतिर नाम सिफारिस गरिएको छ। त्यसैगरी, प्रतिनिधिसभामा प्रत्यक्षतर्फ रिपुप्रसाद राई (देवान) को पनि नाम सिफारिस गरिएको छ। प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको संखुवासभामा प्रदेश सभा (क) प्रत्यक्षतर्फ पाँचजनाको नाम सिफारिस भएको छ। जसमा राजेन्द्र कार्की (नवीन), रिपुप्रसाद राई (देवान), टेकमान राई (उदय), पूर्णप्रसाद राई र दिव्यराज बरालको नाम सिफारिस गरेको छ। तीमध्ये पूर्णप्रसाद राई हालका बहालवाला प्रदेश सांसद हुन्। त्यसैगरी, समानुपातिकतर्फ अदल कुलुङ (आदर्श), फुर्पुछिरिङ सिवो (सोनाम), अर्जुन विश्वकर्मा, बबिता कटुवाल र गणेशकुमार राई (केत्रा) गरी पाँचजनाको नाम सिफारिस भएको जनाएको छ।

त्यसैगरी, प्रदेश सभा (ख)तर्फ प्रत्यक्षमा कृष्ण जिमी (भरत), मानकाजी कोइराला (वि.क.), चन्द्रबहादुर न्यौपाने, पृथकुमार पाठक र छिरिङ शेर्पाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ बाबुराम राई (विवश), लाखमान तामाङ, इन्द्रप्रसाद बराल, दावाछत्र शेर्पा, कुमारजंग राई, पासाङनिमा शेर्पा, अमरबहादुर कार्की र सविना लिम्बूको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ। 
 

सुझावित समाचार