रैनाले लिए सन्न्यास

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

भारतीय राष्ट्रिय टोली तथा उत्तरप्रदेशका बायाँहाते ब्याट्सम्यान सुरेश रैनाले मंगलबार सबैखाले क्रिकेटबाट सन्न्यास लिएका छन् । ३५ वर्षीय रैनाले घरेलु क्रिकेटबाट बिदा भएको जानकारी दिएका हुन् । उनले २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी र रैनाले एकै दिन राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । राष्ट्रिय टोलीबाट बिदा भए पनि उनले इन्डियन प्रिमियर लिग (आइपिएल) र अन्य विदेशी टी–२० लिग खेल्दै आइरहे । रैनाले अब आइपिएलसमेत नखेल्ने भएका छन् ।

रैनाले भारतीय टोलीबाट खेल्न पाउनु गौरव भएको बताएका छन् । ‘यतिवेला म आफूलाई गौरवान्वित महसुस गरिरहेको छु, मैले भारत तथा उत्तरप्रदेशको प्रतिनिधित्व गरी क्रिकेटमा सेवा गर्ने अवसर पाएँ,’ सन्न्यासको घोषणा गर्दै रैनाले भने, ‘अब युवा पिँढीलाई पनि मौका दिनुपर्छ, यस कारण म आजको दिनबाटै सबैखाले क्रिकेट फम्र्याटबाट सन्न्यास लिँदै छु ।’ 

दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भएका रैनाले मंगलबार घरेलु खेलबाट पनि सन्न्यासको घोषणा गरे । ११ वर्ष चेन्नई सुपर किंग्समा बिताएका रैनाले चारपटक आइपिएल उपाधि जिते ।

रैनाले आइपिएल र चेन्नई सुपर किंग्सलाई धन्यवाद दिएका छन् । रैनाले आइपिएलमा दुई सय पाँच खेलमा एक शतक तथा ३९ अर्धशतकको मद्दतमा पाँच हजार पाँच सय २८ रन जोडेका छन् । रैनाले १५ वर्ष क्रिकेटमा बिताउँदा विभिन्न १५ टोलीबाट प्रतिस्पर्धा गरेका थिए । उनले सन् २००२ मा उत्तरप्रदेशको झारखण्डबाट घरेलु क्रिकेटमा डेब्यु गरेका थिए । सन् २०२१ मा चेन्नईबाट अन्तिम आइपिएल खेल खेले । 

आइपिएलमा व्यस्त
२०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि उनले आफूलाई आइपिएलमा केन्द्रित बनाएका थिए । साथै, विदेशमा आयोजना हुने विभिन्न टी–२० फ्रेन्चाइज लिगमा पनि उनी व्यस्त नै रहे । सन् २०२२ को आइपिएलमा उनी बिकेनन् । २०२० को आइपिएलमा उनले बीचमै लिग छाडेका थिए । विश्वको टी–२० फम्र्याटमा रैनालाई एक राम्रो ब्याट्सम्यानका रूपमा लिने गर्छन् । उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा ७८ खेल खेले । एक सय ३४ स्ट्राइकमा ब्याटिङ गर्न रुचाउने रैनले १६ सय पाँच रन बटुलेका छन् । 

सबैखाले क्रिकेटबाट सन्न्यास लिएपछि रैना रोड सेफ्टी क्रिकेट प्रतियोगितामा सहभागी हुन सक्ने भारतीय मिडियाहरूले जनाएका छन् । उनले यस प्रतियोगिताका लागि सम्झौता गरिसकेका छन् । रैनाले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) सँग रोड सेफ्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन अनुमतिपत्र मागेका छन् । रैनाले पनि ट्विटरमा आफू रोड रेफ्टी सिरिजमा सहभागी हुने जानकारी दिएका छन् । ‘रोड सेफ्टी सिरिजमा खेल्न सक्छु,’ उनले भने, ‘दक्षिण अफ्रिका, श्रीलंका तथा युएईमा आयोजना हुने प्रतियोगिताका लागि मैले समझौता गरिसकेको छु ।’ 

चारपटक च्याम्पियन
सन् २०१८ देखि रैनाले पहिलो श्रेणी तथा लिस्ट खेल खेलेका छैनन् । रैनाले चेन्नईबाट ११ सिजन खेले । ११ वर्ष चेन्नईसँग आबद्ध भएका रैनाले चारपटक आइपिएल उपाधि जिते । सन् २०१०, २०११, २०१८ र २०२१ मा चेन्नईले आइपिएल लिगको ट्रफी जित्दा उनी महŒवपूर्ण खेलाडी बनेका थिए । आइपिएलमा सर्वाधिक रन बनाउने सूचीमा उनी तेस्रो स्थानमा छन् । रैनाले पहिलो श्रेणीमा एक सय ९ खेलबाट ६ हजार आठ सय ७१ रन बनाएका छन् । यसैगरी, तीन सय दुई लिस्ट ए खेलमा उनले आठ हजार ६ सय ५४ रन बटुले । 

सन् २००५ मा रैनाले भारतीय टोलीबाट डेब्यु गरेका थिए । उनले २२६ एकदिवसीय, ७८ अन्तर्राष्ट्रिय टी–२० र १८ टेस्ट खेले । सन् २०११ मा भारतले एकदिवसीय विश्वकप जित्दा उनी पनि टोलीका सदस्य थिए । भारतीय टोलीमा टेस्ट, एकदिवसीय तथा टी–२० खेलमा शतकीय इनिङ्स खेल्ने उनी पहिलो खेलाडी थिए । 

सुझावित समाचार