केन्द्रको निर्णयविपरीत बाँकेमा एमालेको उम्मेदवार सिफारिस

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

केन्द्रीय सर्कुलरलाई लत्याउँदै एमाले बाँकेले सम्भावित उम्मेदवारको नाम सिफारिस गरी प्रदेश कमिटीलाई पठाएको छ। गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकालाई उम्मेदवार नबनाउने केन्द्रीय सर्कुलरको धज्जी उडाउँदै एमाले बाँकेले स्थानीय तह निर्वाचनमा पराजित भएकालाई प्रतिनिधिसभातर्फ समानुपातिकमा सिफारिस गरेको छ।

उसले संघीय निर्वाचन क्षेत्रीय कमिटी र प्रदेश निर्वाचन कमिटीले सिफारिस गरी पठाएका सम्भावित उम्मेदवारको नामलाई हुबहु सदर गरेको छ। बैठकले केन्द्रीय सदस्यको दबाब थेग्न नसकेर स्थानीय तह निर्वाचनमा पराजित दुई केन्द्रीय सदस्यको नाम समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो।

एमाले केन्द्रीय कमिटी बैठकले गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भई विजयी भएका र पराजित भएकालाई प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवार बन्न नपाउने मापदण्ड बनाएको छ। तर, केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले दबाब दिँदै स्थानीय तह निर्वाचनमा पराजित भएका केन्द्रीय सदस्यद्वय शान्ति ढकाल र पशुपतिदयाल मिश्रको नाम सिफारिस गर्न लगाएको एक जिल्ला सदस्यले नयाँ पत्रिकालाई बताए।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ढकाल नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर र मिश्र मेयरको उम्मेदवार थिए। दुवैजना संघीय निर्वाचन क्षेत्र नंं. २ बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन्। ‘अध्यक्षजीले केन्द्रीय सर्कुलरविपरीत निर्णय गर्न नहुने अडान लिनुभयो, तर केन्द्रीय सदस्यहरूले आफूले गरेको निर्णयविपरीत जबर्जस्ती नाम सिफारिस गर्न लगाउनुभयो,’ नाम उल्लेख नगर्ने सर्तमा ती जिल्ला सदस्यले भने, ‘केन्द्रीय सदस्यहरूले आफूले गरेको निर्णय आफैँ उल्लंघन गर्नु भएको छ । यसले उहाँहरुलाई नै घाटा हुन्छ।’

त्यसैगरी, गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट राप्तीसोनारी गाउँपालिका– ७ को वडाध्यक्षका उम्मेदवार दुर्गाप्रसाद पाण्डे पनि संघीय निर्वाचन क्षेत्र नं. १ बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन्। एमाले प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ ‘क’ले उनको नाम प्रदेश सभाको समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको थियो।

सुझावित समाचार