नेपाली कांग्रेस बाग्लुङले गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र निर्वाचन लडेर कारबाहीमा परेकाहरूलाई कारबाही फुकुवाका लागि सिफारिस गरेको छ । कांग्रेस बाग्लुङको आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाका दशवटै स्थानीय तहमा स्वतन्त्र निर्वाचन लडेका आफ्ना नेता तथा कार्यकर्तालाई सच्चिएर पार्टीको मूल प्रवाहमा आउन आग्रह गर्दै कारबाही फुकाउन सिफारिस गरेको छ ।
पार्टीभित्रै विद्रोह गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरे पनि पुनः पार्टीको सिद्धान्तलाई आत्मसात् गर्दै सच्चिएर पुनः समाहित हुन आग्रह गर्दै कारबाही फुकाउन गण्डकी प्रदेश कार्यसमितिमार्फत केन्द्रीय समितिलाई आग्रह गरिएको कांग्रेस बाग्लुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए । पार्टीको निर्णयभन्दा बाहिर रहेर अन्य दलको चुनाव चिह्न लिएर उम्मेदवार बनेकाको हकमा भने फुकुवा नहुने सचिव शर्माले बताए ।
‘पार्टीले सबैलाई टिकट दिन सक्दैन, केही साथीहरूले विमति राख्दै स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको थियो,’ शर्माले भने, ‘पार्टीको निर्णय नमानेर स्वतन्त्र उम्मेदवार दिनेहरू पार्टीको विधान र केन्द्रीय निर्देशनबमोजिम नै कारबाहीमा पर्नुभएको थियो । त्यो कारबाही फुकुवाका लागि जिल्ला कार्यसमितिले निर्णय गरेर पठाएको छ । प्रदेशले यसलाई केन्द्रमा पठाएपछि कारबाही फुकुवा हुनेमा हामी विश्वस्त रहेका छौँ । तर, कांग्रेसको निर्णयभन्दा बाहिर रहेर अन्य दलको चुनाव चिह्न लिएर उम्मेदवार बनेकाको हकमा भने फुकुवा हुनेछैन ।’
गत स्थानीय तहको निर्वाचनमा अन्य दलको चुनाव चिह्न लिएर उम्मेदवार बनेकोबाहेक २६ जनालाई कारबाही फुकुवाको माग गर्दै प्रदेश कार्यसमितिमा पठाइएको शर्माले बताए । गत निर्वाचनमा तत्कालीन नेपाल महिला संघको जिल्ला सचिव एवं प्रदेश महाधिवेशन प्रतिनिधि उषा पौडेल, जैमिनी नगरपालिकाका पूर्वसभापति काशीराम आचार्यसहित केही व्यक्ति कांग्रेसका निर्णयभन्दा बाहिर रहेर अन्य दलको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए ।
बाग्लुङमा ६० प्रतिशत माग
कांग्रेस बाग्लुङले स्थानीय तहको निर्वाचनमा जस्तै गठबन्धनका दलभित्र बाग्लुङ ६०–४० का दरले बाँडफाँड हुनेपर्ने माग राखेको छ । कांग्रेसले बाग्लुङमा ६० प्रतिशत नभए विद्रोह गर्ने बताएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ६० प्रतिशत सिट र अन्य गठबन्धनभित्र रहेका दलहरुले ४० प्रतिशत लिएको हुँदा संघ र प्रदेशमा पनि सोहीअनुसार बाँडफाँड हुनुपर्ने जिल्ला सभापति जित शेरचनले बताए ।
उनले दुईवटा संघीय निर्वाचन क्षेत्रमध्ये एक अनिवार्य र चारवटा प्रदेश निर्वाचन क्षेत्रमध्ये तीनवटा अनिवार्य हुनुपर्ने बताएका छन् । ‘बाग्लुङमा पहिलो शक्ति कांग्रेस हो, अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा र पालिकामा हामीले ६० प्रतिशत लिएका थियौँ । यसपटक पनि सोहीअनुसार हुनुपर्छ भन्दै हामीले केन्द्रसँग माग गरेका छौँ । यसको विकल्प छैन,’ सभापति शेरचनले भने ।
बैठकले केन्द्रीय निर्देशनअनुसार सञ्चालन भएको जनताको साथमा कांग्रेस कार्यक्रमलाई अझै प्रभावकारी गराएर लैजाने निर्णय गरेको छ भने आगामी मंसिरमा हुने निर्वाचनलक्षित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने बताएको छ ।