आयल निगमका तीन डिपो प्रमुखको सरुवा गर्ने तयारी

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तीन ठूला डिपोको कार्यालय प्रमुख हेरफेर गर्ने तयारी गरेका छन् । सोमबार मध्यरातिबाट निर्वाचन आचारसंहिताका कारण कर्मचारी सरुवा–बढुवा गर्न नपाइने भएपछि निगम व्यवस्थापनले अघिल्लो मिति नै राखेर भए पनि नेपालगन्जस्थित इन्धन डिपो, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय र  पोखरास्थित गण्डकी प्रादेशिक कार्यालयको नेतृत्व हेरफेर गर्न लागेको हो ।

तीनवटै डिपो प्रमुख हेरफेरको निर्णय सोमबार साँझसम्म गर्ने तयारी थियो । सोमबार साँझ निगमको सञ्चालक समिति बैठक डाकिएको र सो बैठक लम्बिएका कारण कर्मचारी सरुवाको निर्णय हुन नसकेको स्रोतको भनाइ छ ।स्रोतका अनुसार नेपालगन्ज इन्धन डिपोको प्रमुख दीपक घिमिरे, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नवविनोद पोख्रेल र गण्डकी प्रादेशिक कार्यालय पोखराको प्रमुख इन्दु शर्मालाई केन्द्रीय कार्यालयमा पदस्थापना गर्न लागिएको छ । 

नेपालगन्ज डिपोमा जानका लागि दुर्गा पछाई, जगदीश यादव र सतिशराज ओझाले लबिङ गरेका छन् । त्यस्तै, भैरहवा कार्यालय जानका लागि कमला न्यौपाने, जगदीश यादव, मोहन शाह र चित्तरञ्जन दासले दाबी प्रस्तुत गरेका छन् भने पोखरा कार्यालयमा जानका लागि मनोहर डिसी र मनोज ढकालले लबिङ गरिरहेका छन् । आयल निगममा डिपो प्रमुखलाई आकर्षक पदका रूपमा हेर्ने गरिन्छ ।
 

सुझावित समाचार