गौरा भित्र्याइने मठमन्दिर, गौरा घरहरूमा महिला र पुरुष आ-आफ्नो समूहमा देउडा खेलेर रमाइरहेका भेटिन्छन्। महिलाहरू देउडासँगै परम्परागत फागहरू गाएर गौरा नचाइरहेको हुन्छन्।
युवायुवतीहरू देउडामा झुम्मिरहेका छन्। सुदूरपश्चिममा गाउँघरदेखि सहरबजारसम्म यति वेला गौरा पर्वको यस्तै रौनक छाएको छ। सुदूरपश्चिमको मौलिक पर्व गौराको अवसरमा यहाँका गाउँसहर देउडा र स्थानीय लोकभाकाले गुन्जायमान भएका छन्।
गौराघर तथा गौरा भित्र्याइएको मठमन्दिरहरूमा देउडा, चैतलगायत सांस्कारिक गीतहरू गाएर यहाँका स्थानीय बासिन्दा रमाइलो गर्दै गौरा पर्व मनाइरहेका छन्। गौराको अवसरमा धनगढीमा देउडा महोत्सव भइरहेको छ।
परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरीको प्रतिमालाई शिरमा राखेर नचाउँदै गौरा भित्र्याउने परम्परा रहेको छ।
गौरा भित्र्याइएको धनगढीको वनदेवी मन्दिर, गौरीशंकर मन्दिरलगायत देवालयहरूमा दुई दिनयता सयौँ स्थानीय जम्मा भएर रमाइलो गरिरहेका छन्। भाद्र शुक्ल पक्षको पञ्चमीका दिन बिरुडा भिजाएसँगै गौरा पर्व पनि सुरु भएको हो।
पाँचवटा अन्न मिसाइने बिरुडालाई भगवानको प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। सप्तमीका दिन गौरालाई विधिवत रूपमा गौराघरमा भित्र्याएसँगै देउडा, चैत, धमारीलगायत सांस्कारिक गीत गाउँदै खेलेर रमाइलो गर्ने चलन सुदूरपश्चिममा रहिआएको छ।
अष्टमीमा दुर्वाष्टमीको पूजा गरेपछि गौरामा पूजाको अंग वा व्रत समापन हुन्छ। व्रत समापन भए पनि गौरा भने केही दिनपछिसम्म पनि मनाउने गरिन्छ। परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरीको प्रतिमालाई शिरमा राखेर नचाउँदै गौरा भित्र्याउने परम्परा रहेको छ।
महिलाहरूले धान, साउँ, तिल, आफामार्गलगायतका बुट्यानबाट गौरा अर्थात् देवी गौरीको प्रतिमा बनाई गौरा भित्र्याउने गर्छन्। यो पर्वमा महिलाहरू पतिको दीर्घायु र परिवारको सुखशान्तिका लागि व्रत बसेर भगवान गौरी र महेश्वर अर्थात् शिव र पार्वतीको पूजा आराधना गर्ने गरेका लोकसंस्कृतिका जानकार धनगढीकी पार्वती भट्टले बताइन्।
अटल शौभाग्य, सन्तान प्राप्ति, सुख र समृद्धिको कामना गर्दै व्रत बसेर गौरी र महेश्वरको पूजा गर्ने चलन रहेको उनले बताइन्। उनका अनुसार देवी गौरीले कठिन उपासना गरी भगवान शिवलाई पतिको रूपमा प्राप्त गरेजस्तै गौरामा व्रत बसेमा अटल शौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ।
‘प्रधानमन्त्री नै भए पनि देउडा खेल्डा साधारण मान्छेसरह हातमा हात जोडेर खेल्नुपर्छ,’ संस्कृतिविद् जोशीले भने, ‘यो खेलमा सबैको समान अस्तित्व हुने र हातमा हात मिलाएर खेल्ने भएकाले यसले आपसी सद्भाव बढाउने काम पनि गरेको हुन्छ।’
गौरा जीवनलाई प्रकृतिसँग जोड्ने र प्रकृति र जीवनबीचको सम्बन्धलाई उजागर गर्ने पर्व भएको संस्कृतिविद् पदमराज जोशी बताउँछन्।
‘पञ्चतत्व जल, वायु, अग्नि, पृथ्वी र आकाशले शरीर निर्माण भएको हुन्छ। त्यसलाई जीवित राख्नका लागि अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष हुन्छन्,’ जोशीले भने, ‘यी कोषको प्रतीकका रूपमा गौरामा गौरी र महेश्वरको पूजा गौरा पूजा गरिन्छ।’
गौरालाई प्रकृति र महेश्वरलाई ब्रह्माण्डको प्रतीकका रूपमा पूजा गर्ने चलन रहेको जोशीले बताए।
सद्भावको पर्व
एक ठाउँमा जम्मा भएर हातमा हात मिलाउँदै देउडालगायत परम्परागत लोकसंस्कृति गाउने खेल्ने भएकाले गौराले आपसी सद्भाव बढाउने काम गरेको डोटेली लोकसंस्कृतिका जानकार बताउँछन्।
‘प्रधानमन्त्री नै भए पनि देउडा खेल्दा साधारण मान्छेसरह हातमा हात जोडेर खेल्नुपर्छ,’ संस्कृतिविद् जोशीले भने, ‘यो खेलमा सबैको समान अस्तित्व हुने र हातमा हात मिलाएर खेल्ने भएकाले यसले आपसी सद्भाव बढाउने काम पनि गरेको हुन्छ ।’
एक ठाउँमा जम्मा भएर आपसी दुःखसुख साटासाट गर्ने भएकाले यसलाई सामाजिक सद्भावको पर्व मानिन्छ।’ त्यसैले, मौलिक रूपमा मनाइने यो पर्वको सामाजिक र सांस्कारिक महत्व छ। गौरा विसर्जन नभएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषा देउडा, चैत, धमारी आदि खेल खेलेर मनोरञ्जन गर्ने गर्दछन्।
बिरुडा अर्थात् गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाडामा भिजाएर बनाएको पञ्च अन्नलाई प्रसादको रूपमा खाने चलन रहेको छ। कामविशेषले घरबाहिर रहेकाहरू पनि गौरा पर्व मनाउन घर फर्कने, विवाहित चेलीहरू माइत जाने र समूहमा रमाइलो गरिने भएकाले यो पर्व पारिवारिक र सामाजिक मिलनको पर्व पनि भएको संस्कृतिकर्मीहरू बताउँछन्।
गौराका अवसरमा खेलिने देउडा, चैत, धमारीलगायत लोकसंस्कृतिमा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक प्रसंगको विषयवस्तु उल्लेख हुने गरेको धनगढीका स्थानीय तिलक भट्टले बताए। पछिल्लो समय गौराको प्रमुख आकर्षण मानिने देउडामा माया, प्रेमसँगै सामाजिक विकृतिप्रति पनि व्यंग्य गर्ने गरिएको पाइन्छ। मौलिक पर्वको रूपमा रहेको गौरा कर्णाली प्रदेशका केही जिल्ला र भारतको उत्तराखण्ड, कुमाउ प्रदेशमा पनि मनाउने चलन रहेको छ।