महाभियोग सिफारिस समितिको बैठक सकियो, एक घन्टामै पाँच प्रश्न

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको आज आइतबारको बैठक सकिएको छ। निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानको तेस्रो दिन आज एक घन्टामै उनलाई पाँच प्रश्न सोधिएको छ।

आज बयानका क्रममा जबराले तत्कालिन डिआइजी रन्जन कोइरालाको मुद्दामा न्यायाधीशले विवेक प्रयोग गरेर फैसला गरेको जवाफ दिएका छन्। कसुरदारका नाबालक छोराहरु इजलासमा उपस्थित भएकाले उनीहरुको पालनपोषणका लागि सजाए कम गरिएको स्पष्टीकरण दिए। उक्त मुद्दामा गल्ती भएको स्विकार गर्दै जबराले त्यसैको आधारमा महाभियोग लगाएको भए क्षमा चाहेको बताएका थिए।

जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय पाएका उनको जन्मकैदको सजाय घटाएर साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको थियो।

समितिले तयार गरेको ४३ मध्ये ११ प्रश्नमा जबराको बयान सकिएको छ। समितिको अर्को बैठक २६ गते १२:३० बजे बस्नेछ।

पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण र कर्तव्यपालना नगरेको भन्दै जबराविरुद्ध १ फागुनमा महाभियोग दर्ता भएको थियो ।

सुझावित समाचार