नेपालको सानदार जितमा आसिफको शतक

शनिबार, १८ भदौ, २०७९
डिजिटल संस्करण

ओपनिङ जोडी आसिफ सेख र अर्जुन साउदको प्रभावशाली ब्याटिङसँगै नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा सात विकेटको सानदार जित निकालेको छ । नेपालले तीन एकविदसीय शृंखलामा १–० को अग्रता बनाएको छ । केन्याको नौरबीस्थित जिमखानमा शुक्रबार दुई सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाउँदै दुई सय २१ रन बनायो । नेपालको जितमा आसिफले सतक र अर्जुनले अर्धशतकी इनिङ्स खेलेका थिए । दुई खेलाडीले पहिलो विकेटका लागि एक ४१ रनको साझेदारी गरेपछि नेपाल सहज जिततर्फ अग्रसर भएको थियो । 

आसिफको पहिलो शतक 
नेपालको जितमा आसिफले एक सय १० रन बनाए । उनले एक सय २० बलमा १२ चौका र दुई छक्का प्रहार गरेका थिए । उनी आसिफ विसिल पटेलको बलमा बोल्ड भए । पहिलो खेलका म्यान अफ दी म्याच आसिफको यो पहिलो एकदिवसीय शतक हो । यसअघि उनले ओमानविरुद्ध ९० रनको उच्चतम इनिङ्स खेलेका थिए । समग्रमा नेपालीका लागि एकदिवसीय खेलमा राजु खड्का, शक्ति गौचन, शरद भेसवाकर, सुभाष खकुरेल, अनिल मण्डल, पारस खड्का, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । 

केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा अर्जुनले ६१ रन बनाउन ९७ बलमा पाँच चौका र एक छक्का हिर्काए । यसअघि टी–२० को डेब्यु खेलमा समेत प्रभाव जमाएका अर्जुनले पहिलो एकदिवसीय खेलमा समेत उत्कृष्ट प्रदर्शन गरे । यस्तै, नेपालका लागि ज्ञानेन्द्र मल्लले ५० बलमा २४ रन बनाए । रोहितकुमार पौडेल तीन रन र दीपेन्द्रसिंह ऐरी १५ रनमा अविजिति रहे ।

दुई अर्धशतक र दुई डक आउट 
टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १८ रन बनायो । केन्याका राकेप पटेल र कोलिन्स ओबुयाले अर्धशतक प्रहार गरे । राकेपले ७५ बलमा ६७ रन बनाए । रोहितकुमार पौडेलबाट रन आउट हुनुअघि कोलिन्सले एक सय १८ बलमा ६२ रनको योगदान गरे । विकेटकिपर इर्फान करिमले ४१ बलमा ३० रन बनाए । सचिन बुधियाले  २१ बलमा २६ रन जोडे । केन्याका दुई खेलाडी शून्यमा पेभिलियन फर्कंदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

करण र सोमपालको नामका तीन विकेट
केन्यालाई पहिलो एकदिवसीय खेलमा मध्यम स्कोरमा रोक्न सोमपाल कामी र करण केसीले समान तीन विकेट लिए । १० ओभर बलिङ गरेका सोमपालले एक मेडनसहित २९ रन खर्चिए । ९.१ ओभर बलिङ गरेका करणले तीन मेडनसहित ३८ रन खर्चिए । यसबाहेक आलिद अन्सारी र पवन सरापले समान एक विकेट लिए । यस्तै, साहव आलम, बसिर अहमेद र दीपेन्द्रसिंह ऐरी विकेटविहिन रहे ।

सुझावित समाचार