माओवादीकाे बागमती कमिटीले तोक्यो उम्मेदवार छनोटका मापदण्ड

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीले उम्मेदवार छनोटको मापदण्ड र सिफारिस गर्ने मिति तोकेको छ। बुधबार बसेको बागमती प्रदेशको विस्तारित बैठकले प्रदेशका १३ वटै जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गरी पठाउन संघ र प्रदेश निर्वाचन क्षेत्र तथा जिल्ला र पालिकाहरूलाई निर्देशन दिएकाे हो।

सबै पालिकाहरूले यही भदौ १८ मा उम्मेदवार छनोट गरी निर्वाचन क्षेत्रमा बुझाउने र क्षेत्रीय कमिटीले १९ गते जिल्ला समन्वय समितिलाई नाम सिफारिस गर्न सर्कुलर गरेकाे छ। २० गते जिल्ला समन्वयको बैठक बसी सिफारिस भई आएका नामहरूबारे बैठकबाट निर्णय गरी सुझावसहित साँझसम्म प्रदेश कार्यालयलाई बुझाइसक्नुपर्ने सर्कुलरमा उल्लेख छ। उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न पनि निर्देशन दिइएको छ।

बैठकले उम्मेदवार छनोटको कार्यविधि पनि निर्धारण गरेको छ। क्रियाशील, पुराना र जनप्रियलाई पहिलो प्राथमिकतामा राखिएको छ। अहिलेसम्म एकपटक पनि सिफारिस नभएकालाई पहिलो प्राथमिकतामा राख्न भनिएको छ। एकपटक चुनाव जितेकोलाई दोस्रो र दुईपटक जितेकोलाई तेस्रो प्राथमिकतामा राख्न बैठकले निर्देशन गरेको छ। समानुपातिकतर्फ भने यसअघि समानुपातिकबाट सांसद बनिसकेकालाई सिफारिस नगर्न भनिएको छ।

यस्ता छन् उम्मेदवार छनोटका आधार
- प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनाेटका लागि पालिका समितिको बैठकले प्रदेश तथा प्रतिनिधि निर्वाचन क्षेत्रीय समन्वय समितिलाई तथा महानगरपालिकाले सम्बन्धित निर्वाचन क्षेत्र र जिल्लालाई सिफारिस गर्नेछ ।

- प्रदेश निर्वाचन क्षेत्रीय समन्वय समितिले प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको सिफारिस गर्नेछ । 

- प्रतिनिधि निर्वाचन क्षेत्रीय समन्वय समितिले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको सिफारिस गर्नेछ  ।

- जिल्ला समन्वय समितिले प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रीय समन्वय समितिको सिफारिसमा आवश्यक सुझाव समावेश गरी प्रदेश कार्यालयमा पठाउनेछ । 

- नामावली सिफारिस गर्दा सकेसम्म सर्वसहमत नाम सिफारिस गर्ने प्रयास गर्नुपर्नेछ । सर्वसहमत नभए प्रत्यक्षतर्फ अल्फाबेटको आधारमा बढीमा तीनजनाको नाम सिफारिस गर्नेछ  ।

- गठबन्धन भएमा गठबन्धनमा प्राप्त क्षेत्र र सीमिततालाई मध्यनजर गरी सिफारिस भएका उम्मेदवारहरूमध्येबाट जिल्ला कार्यालयको थप सुझावसमेत लिई प्रदेश कार्यालयले तलमाथि गरी सिफारिस गर्न सक्नेछ ।

- सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिबद्धता, अनुशासन र संगठनात्मक लगाव भएका, चुनाव जित्ने सम्भावनासहित जनमतलाई प्रभावित गर्न सक्ने लोकप्रियहरूमध्ये यसअघि निर्वाचित नभएकाहरूलाई दिनुपर्नेछ ।

- दोस्राे प्राथमिकता एकपटक निर्वाचित भइसकेकाहरूमध्येबाट अघिल्लो बुँदाको मापदण्डभित्र परेकालाई दिइनुपर्नेछ ।

- तेस्राे प्राथमिकता एकपटकभन्दा वढी निर्वाचित भएकाहरूलाई दिइनुपर्नेछ ।

- अत्यन्तै विशिष्ट स्थितिबाहेक एकपटक समानुपातिकमा सांसद भइसकेकाहरूलाई अर्कोपटकका लागि सिफारिस गरिनेछैन।

सुझावित समाचार