राजधानीमा चौथो करिअर फेस्ट सम्पन्न

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा चौथो करिअर फेस्ट सम्पन्न भएको छ। पूर्वशिक्षामन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा सोमबार भएको उक्त कार्यक्रममा विभिन्न विधाका विशेषज्ञहरूले कक्षा १२ को परीक्षा सकेका विद्यार्थीसँग आफ्ना अनुभव साटेका थिए।

कार्यक्रममा बैंकिङ क्षेत्रबाट भर्खरै बिदा लिएका बैंकर एवं मोटिभेसनल स्पिकर अनिलकेशरी शाह, क्याप्टेन विजय लामा, राजनीतिकर्मी रवि लामिछाने, उषाकिरण तिम्सिना, हिसानका अध्यक्ष रमेश सिलवाललगायतका व्यक्तिहरूले आफ्नो अनुभव र ज्ञान आदान–प्रदान गरेका थिए। कार्यक्रममा गायक प्रमोद खरेल र प्रवेशकुमार श्रेष्ठ तथा हास्य कलाकार राजाराजेन्द्र पोखरेलसमेतको प्रस्तुति रहेको थियो।

विद्यार्थीहरूलाई विभिन्न विधामा प्रवेश गर्नका लागि विषय विज्ञहरूबाट जानकारी प्रदान गर्ने र ज्ञानको भोक सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभापति विशाल केसीले बताए।

करियर एजुकेसन सर्भिसेसको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा १२ को परीक्षा सकेर बसेका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी थिए। विद्यार्थीलाई स्वदेश तथा विदेशमा अध्ययन गर्न सही परामर्श गराउने उद्देश्यले स्थापित करिअर पोइन्टले यस्ता खालका कार्यक्रमहरू बर्सेनि गर्दै आएको छ।

सुझावित समाचार