लोसपा मधेसकेन्द्रित दलको गठबन्धन बनाउने गृहकार्यमा

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

पाँचदलीय सत्तागठबन्धनमा जाने प्रयास टुंगोमा पुग्न नसकेपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेसकेन्द्रित दलहरूको गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । मधेस आन्दोलनमा होमिएका मधेसकेन्द्रित दलहरू मिल्नुपर्ने प्रस्तावसहित लोसपाले सबै दलहरूसँग वार्ता थालेको हो । 

सबैसँग वार्ता गर्न सोमबार लोसपाले प्रमुख सचेतक उमाशंकर अरगरियाको संयोजकत्वमा केशव झा र सुरेन्द्र झा सदस्य रहनेगरी कमिटी गठन गरेको थियो । सोही वार्ता कमिटीले मंगलबार हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग छलफल गरेको छ । छलफलबाट दुवै पार्टीबीच गठबन्धन गरेर चुनाव लड्ने सहमति भएको वार्ता संयोजक अरगरियाले बताए । ‘क्रमशः हामी सबै मधेसवादी दलसँग कुरा गर्दै छौँ,’ उनले भने, ‘भोलि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीसँग वार्ताको तयारी छ । त्यसपछि सिके राउत नेतृत्वको जनमत पार्टीसँग कुरा गर्दै छौँ । यो चुनावमा अब मधेसकेन्द्रित दलहरू एकढिक्का हुनुको विकल्प छैन । स्थानीय निर्वाचनको परिणामले पनि त्यो देखाइसकेको छ ।’

अरगरियाका अनुसार मधेसकेन्द्रित दलहरू एकढिक्का हुने त्यसपछि अन्य ठूला दलसँग वार्ता गर्ने तयारी छ । सिके राउत नेतृत्वको जनमत पार्टीले त सुरुदेखि नै मधेसकेन्द्रित दल मिलेर चुनाव लड्नुपर्ने प्रस्ताव अघि सरेको थियो । त्यसैले सहकार्य अभियानमा उनीहरू सहमत हुने लोसपा नेताहरूको अपेक्षा छ । 

तर, जसपासँग अलग्गिएर बनेको लोसपाले नेतृत्व गरेको यो प्रस्तावमा उपेन्द्र यादव सहमत होलान् ? लोसपालाई पाँचदलीय गठबन्धनमा प्रवेश रोक्न उपेन्द्र नै बाधक भएको आरोप छ । तर, अरगरिया मधेसकेन्द्रित दलहरूको गठबन्धनमा जसपालाई ल्याउन असम्भव नरहेको बताउँछन् । यसका लागि दुवै पार्टीको एउटै सर्त छ । एक–अर्काको गल्ती औँल्याउँदै आत्मसमीक्षा गरे सहकार्य हुन सक्ने दुवै पक्षको धारणा छ । जसपा अध्यक्ष यादवले त पटकपटक सार्वजनिक कार्यक्रममै लोसपाले विगतको समीक्षा गर्दै गल्ती स्वीकार्न तयार भए एकता र गठबन्धन हुने बताउँदै आइरहेका छन् । 

See More On

सुझावित समाचार