प्रेरक प्रसंग : चतुर सेनापतिको आत्मविश्वास

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

हजारौँ वर्षपहिले चीनमा एक चतुर र आत्मविश्वासी सेनापति थिए । एक दिन, लामो युद्ध अभियानको अन्त्यमा जनरलले सिपाहीहरूको सानो बटालियनको साथ एउटा गढमा रोकिने निर्णय गरे । साथमा उनले आफ्नो मुख्य सैन्य बललाई अन्यत्रै आराम गर्न पठाए । यसैबीच, उनका एक शत्रुले यसबारे सुइँको पाए । दंग पर्दै आफ्नो निकै ठुलो संख्याको सेनालाई शत्रु सेनापति बसेको गढतिर अघि बढ्ने आदेश दिए । 

मध्यरातमा, मस्त निदाइरहेका चिनियाँ जनरललाई उनका एक सहयोगी सिपाहीले ब्युँझाए । उनले सूचना दिए— दुश्मन सैनिक पूर्ण तयारीसाथ नजिक आउँदै छन् । उज्यालो हुनुअघि उनीहरू यहाँ आइपुग्नेछन् । हाम्रो गढमा हामीसँग सिपाहीको संख्या निकै सानो छ । हामीले उनीहरूको सामना गर्न कठिन छ । यो समाचार सुनेर जनरल रोकिए, केही सोचे र आत्मविश्वाससाथ आदेश दिए— तिमी तल जाऊ, गढका सबै प्रवेश द्वारा खोलिदेऊ र तिमीहरू दुश्मनको हात नआउने गरी लुक । सिपाहीले तत्काल जनरलको आदेश पूरा गरे । जनरलले पनि आफूसँग भएका सबै हतयार लुकाए । फौजी पोसाक लगाए । र, मेन्डोलिन बजाउन सुरु गरे । 

नभन्दै बिहानीपख शत्रु सेना पूर्ण तयारीसाथ गढमा प्रवेश गरे । उनीहरूको अगाडि सेनापति थिए । चिनियाँ सेनापतिलाई त्यति निस्फिक्रीसाथ मेन्डोलिन बजाइरहेको देखेपछि सेनापतिले आफ्ना सिपाहीलाई तत्काल रोकिन आदेश दिए । उनले मनमनै सोचे— यति धूर्त चिनियाँ सेनापति यति ढुक्क देखिनुको पछाडि पक्कै पनि केही षड्यन्त्र छ । नत्र, आफ्ना शत्रुलाई यति नजिक आएको देखेर पनि कोही यति बेपरवाह कसरी देखिन सक्छ ? यहाँ हामीले यिनीमाथि आक्रमण ग¥यौँ भने हामी पक्कै पनि जिउँदो निस्कन सक्नेछैनौँ । 

शत्रु सेनापतिले त्यहाँबाट पछि हट्नुमै आफ्नो बुद्धिमानी देखे । उनले आफ्ना सिपाहीलाई पछि हट्ने आदेश दिए र त्यहाँबाट चुपचाप फर्किए । यो देखेपछि चिनियाँ सेनापति मुसुक्क मुस्कुराए । 
 

सुझावित समाचार