लोप हुँदै थपाल्या व्यासीको चोख्या पर्व

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

हुम्लाका थपाल्या व्यासी जातिले मनाउँदै आएको चोख्या पर्व पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। आफ्नो बालीनालीमा अरूको आँखा लागेको चोख्या मारेर सह ल्याउन मनाइने यो पर्व पछिल्लो समय लोप हुन थालेको हो।

अदानचुली गाउँपालिका– ६ को पाल्सागाउँ र सिमकोट गाउँपालिका– ७ को स्याडा गाउँमा यो पर्व मनाउने गरिएको छ। 

सुरुका वर्षहरूमा आफ्नै परम्परामा सजिसजाउ हुने गरे पनि पछिल्ला केही वर्षयता परम्परा हराउँदै गएको भन्दै अदानचुली– ६ की वसुन्धारा बुढाले चिन्ता व्यक्त गरिन्।

‘पहिले–पहिले पुराना बक्खुलगायतका पहिरनमा सजिएर फुर्का खेलेर चोख्या पर्व मनाइन्थ्यो,’ बुढाले भनिन्, ‘चोख्याको धामीले ६–७ घैँटो जाँड (छ्याङ) खाने, धामीझाँक्री नाच्ने चलन थियो। आजभोलि रमाइलो हुन छोड्यो।’ तीन दिनसम्म मनाउने यो पर्व आजभोलि देउडा खेलेर मात्रै रमाइलो गर्न थालेको अदानचुली गाउँपालिका– ६ कै अक बुमिले बताए। उनका अनुसार जिल्लाभरिमै यो पर्व दुई गाउँमा मात्रै मनाउने गरिन्छ।

चोख्याको पहिलो दिन घरभन्दा टाढाबाट सानो ढुंगा बोकेर ल्याइन्छ। उक्त व्यक्तिलाई परिवारका अन्य सदस्यले मिठोमसिनो बनाएर खुवाउने चलन रहेको बुमीले जानकारी दिए। लोप हुने अवस्थामा पुगेका यस्ता पुराना चाडपर्व संरक्षणमा अब स्थानीय सरकार नै सक्रिय हुनुपर्नेमा स्थानीय बुढापाकाको एकमत छ।

सुझावित समाचार