ब्युटी सैलुन खोल्नुअघि यी ५ कुरामा ध्यान दिनुस्

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

सौन्दर्य उद्योग विश्वको तेस्रो ठूलो उद्योग हो । धेरै मानिस यसलाई करिअर वा सौखका रूपमा अघि बढाउन चाहन्छन् । यदि तपाईं ब्युटी सैलुन खोल्नेबारे सोच्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस् :

उपकरण 
जब तपाईंं आफ्नै व्यवसाय थाल्दै हुनुहुन्छ भने उपकरण खरिदमा तपाईंंले अति नै ध्यान दिनुपर्छ । तपाईंं त्यसको प्रयोग कति गर्नुहुन्छ, एकपटकमा कतिजना ग्राहकलाई त्यसले सेवा दिन सक्छ, यो स्थायी हो वा सार्न मिल्ने प्रकृतिको छ, यस्ता कुरा तपाईंंले ध्यान दिनुपर्छ । 

फर्निसिङ
सैलुन बिजनेस सुरु गर्दा राम्रो फनिर्सिङ र साजसज्जा आवश्यक छ । भद्दा साजसज्जा आवश्यक छैन, सरल रूपमा कम बजेटमै सैलुनलाई आकर्षक देखाउन सकिन्छ । यद्यपि, तपाईंंले लामो समय टिक्ने अर्थात् पटक–पटक फेर्न र मर्मत गर्न नपर्ने खालका फर्निचर जडान गर्नुभयो भने राम्रो हुन्छ ।  

बिजनेस प्लान बनाउनुस्
पहिलो कदम बिजेनस प्लान बनाउनु हो । तपाईंंको योजना व्यावहारिक र सार्थक छ वा छैन भनेर तपाईंंलाई प्रतिबद्ध बनाउने काम यसले गर्छ । बिजनेस प्लानमा तपाईंंले व्यवसाय गर्नुको उद्देश्य, तपाईंको बाटो र लक्ष्य उल्लेख हुन्छ । तपाईंले टार्गेट गरेको बजारबारे यसमा सूचना समावेश हुनुपर्छ । तपाईंलाई सैलुन खोल्न कति पैसा चाहिन्छ, यसबाट कति समयमा कति मुनाफा कमाउनुहुन्छ, कस्ता जोखिम छन् र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषय यसमा समावेश हुन्छ । बिजनेस प्लानमा कम्पनीको मिसन, मुख्य प्रडक्ट वा सेवा, लक्षित ग्राहक र बजार, आर्थिक सारांश (आयको विवरण) र पुँजीको स्रोत  समावेश एक पृष्ठ लामो सारांश बनाउनुस् । त्यसपछि तपाईंका ग्राहक को हुन् र अन्य कम्पनीको दाँजोमा उनीहरू तपाईंको कम्पनीमा किन आउँछन् भन्ने कारणसहितको बिजनेस डिस्क्रिप्सन बनाउनुस् । ती ग्राहकसमक्ष विज्ञापन र प्रवद्र्धनमार्फत कसरी पुग्न सकिन्छ भन्ने योजनासहितको मार्केटिङ प्लान बनाउनुस् । 

लोकेसन खोज्दा ध्यान दिनुस्
 तपाईंले कुन स्थानमा सैलुन खोल्नुहुन्छ भन्ने विषयले तपाईंको व्यवसायमा सबैभन्दा ठूलो महत्व राख्छ । त्यसैले सावधानीपूर्वक स्थान छनोट गर्नुस् । यसका लागि बरु केही समय लिनुस् । धेरै ठाउँबारे अध्ययन गर्नुस् । ती ठाउँलाई तुलना गर्नुस् र कुन स्थान योग्य छ भनेर निर्णय लिनुस् । कुनै कुरामा हतार नगर्नुस् । तपाईंले सैलुन खोल्ने ठाउँमा  रात वा दिन कुन समयमा कति मानिसको आवतजावत हुन्छ, हिसाब निकाल्नुस् । तपाईंको सैलुन बाहिरैबाट देखिने खालको हुनुपर्छ, ताकि गाडीमा आएका वा 
हिँडिरहेका मानिसहरूले सडकबाटै यसलाई देख्न सकून् ।

आर्थिक पक्ष 
आर्थिक पक्षबारे विशेष ध्यान दिनुस् । तपाईंलाई व्यवसाय सुरु गर्न कति पैसा लाग्छ, फर्निचर वा उपकरण खरिद र भविष्यमा त्यसको मर्मत वा अपग्रेडका लागि कति लाग्न सक्छ, भाडा कति तिर्नुपर्छ, व्यवसायको बिमा कसरी गर्न सकिन्छ, यी कुरा राम्रोसँग अध्ययन गर्नुस् । 

सुझावित समाचार