दाजुको हत्या भएको तीन वर्ष बितिसक्दा पनि अदालतबाट न्याय नपाएपछि धनुषा मिथिला नगरपालिका– ५ नक्टाझिज–सिरीपुरका २२ वर्षीया लक्ष्मीकुमारी महतो बुबा रामजीवनसँगै काठमाडौं आइपुगेकी छिन् । नदी उत्खननको विरोध गर्दा २५ पुस ०७५ मा लक्ष्मीका दाइ दिलीप भनिने ओमप्रकाश महतोको हत्या भएको थियो । हत्या अभियोगमा प्रहरीले चुरियामाई बालुवा प्रशोधन कम्पनीका सञ्चालक विपिनकुमार महतो, टिपरचालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो, टिपर खलासी रञ्जित भनिने सत्यनारायण महतो, मिस्त्री शत्रुघन महतो, विनोदकुमार महतो र रोशनकुमार महतो पक्राउ गरेको थियो ।
जिल्ला अदालत धनुषाको आदेशपछि विपिन, मुनिन्द्र र जितेन्द्र पुर्पक्षका लागि जेलमा छन् । सत्यनारायण, शत्रुघन, विनोद र रोशन भने धरौटीमा छुटेका छन् । लक्ष्मीकुमारीका अनुसार तीन वर्षमा अदालतले १६ पटक मुद्दाको पेसी सारिसकेको छ । सोही कारण न्याय पाउन ढिलो भएकाले सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आउनुपरेको उनले नयाँ पत्रिकासँग बताइन् । उनले भनिन्, ‘तीन वर्षअघि दाइको हत्या भयो । अदालतको चक्कर लगाउँदा धेरै पैसा खर्च भइसक्यो । न्याय नपाउने पिरले बुबाको स्वास्थ्य झन् खराब भएको छ । यस अवधिमा १६ पटक पेसी तोकियो, तर बकपत्रसमेत भएको छैन । पेसी सरेको–सर्यै छ । जिल्ला अदालतबाट न्याय पाउन सक्ने अवस्था रहेन । त्यसो हुँदा काठमाडौं आएका छौँ ।’
लक्ष्मीकुमारीका अनुसार मृतक दिलीप प्राकृतिक सम्पदा संरक्षण अभियन्ता थिए । भारतको भोपालस्थित इन्जिनियरिङ कलेजबाट मेकानिकल इन्जिनियर सकेका उनी नेपाल आउँदा प्राकृतिक सम्पदाको अवलोकन भ्रमण गर्थे । यही क्रममा दिलीपले मिथिला– ५ नक्टाझिज–सिरीपुरस्थित औराही नदीमा अवैध संरचना बनाई चुरियामाई बालुवा प्रशोधन कम्पनीको सञ्चालक विपिनकुमारले बालुवा उत्खनन गरेको देखे । यसको दिलीपले तत्काल विरोध गरे । विरोध गरेकाले उनलाई ज्यान मार्ने धम्कीदेखि लाखौँ रुपैयाँको प्रलोभनसमेत दिए । तर, दिलीप प्रलोभनमा नफसी अवैध रूपमा भइरहेको उत्खननको निरन्तर विरोधमा उत्रिए । विरोध गर्दै उत्खनन स्थल पुगेका दिलीपलाई विपिनको समूहले कुटपिट गरी हत्या गरेको बहिनी लक्ष्मीकुमारीको भनाइ छ ।
काठमाडौंमा पत्रकार सम्मेलनसमेत गरेकी उनले भनिन्, ‘दाइ प्राकृतिक सम्पदा संरक्षण अभियन्ता हुनुहुन्थ्यो । गाउँमै अवैध रूपमा नदी उत्खनन हुन थालेपछि दाइले विरोध गर्नुभयो । यस क्रममा उहाँलाई धम्की र प्रलोभन दुवै आए, तर उहाँ फस्नुभएन । सोही झोकमा उहाँमाथि आक्रमण भयो । चोटका कारण उहाँको मृत्यु भयो ।’ लक्ष्मीकुमारीका अनुसार अभियुक्तका तर्फबाट धम्की र प्रलोभन आउने क्रम अझै रोकिएको छैन । उनीहरूकै प्रभावमा परेर पटक–पटक पेसी सारिएको उनको आरोप छ । प्रहरी प्रशासनबाट समेत मुद्दामा मिलापत्र गर्न दबाब आइरहेको उनले बताइन् । निःशुल्क कानुनी सहायता दिने प्रतिबद्धता दिएका वातावरण कानुन समाज नेपालका अधिवक्ता पदमबहादुर श्रेष्ठले मृतक दिलीपको परिवारले न्याय पाउन ढिला भएको बताए ।