सत्तारूढ गठबन्धनले एमालेप्रति भ्रम फिँजाउने कोसिस गर्‍यो : ओली

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन्। केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकमा बाेल्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् ।

विगतमा ६० वर्ष उमेर पुगेकाहरूलाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैलाउने कोसिस सत्तारुढ दलहरूले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्नसमेत गरे । नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रूपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताए ।

उनले भने, ‘नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्न चाहन्छ । जनताको समस्या समाधान गरी आएको पार्टी हो । एमाले नागरिकताको समस्या स्थायी रूपमा समाधान होस भन्ने चाहन्छ । अनि, एमालेकै विरुद्ध अहिले पनि भ्रम फिँजाउन खोज्ने ? पहिले–पहिले जस्तै ६० वर्षभन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा कुदेजस्तै अहिले फेरि अर्को खालको भ्रम फिँजाउन खोज्ने ? त्यसकारण सरकारको काम हो– जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देऊ । आमा वा बुबाको नाममा नागरिकता छ भने आमा वा बुबाको नाममा नागरिकत देऊ । किन अल्झाएर राख्ने ? तर, संसदीय प्रक्रिया त हुन्छ नि । अनि संसदीय प्रक्रिया मिच्नका लागि एमाले बाधक भो भनेर बहाना बनाउने ? त्यसकारण यो कपटपूर्ण अहिलेको गठबन्धनको यस्ता कपटपूर्ण खालको दुष्प्रचारहरू गठबन्धनले गर्छ भने हामीले त्यसको जोडदार खण्डन गर्नुपर्दछ । हामी नागरिकताको स्थायी समाधान चाहन्छौँ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने बताए । राष्ट्रको हितको रक्षा र सम्मानका लागि, राष्ट्रियतको रक्षा र सम्बर्द्धनका लागि, मुलुकको स्वाधीनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उनको तर्क थियो ।

See More On

सुझावित समाचार