गौरीशंकर बहुमुखी क्याम्पसका विद्यार्थीका लागि कानुनी सचेतना कार्यशाला

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतले दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसका विद्यार्थीलाई कानुनी सचेतनासम्बन्धी कार्यशाला सञ्चालन गरेको छ ।  क्याम्पस तहका विद्यार्थीलाई कानुनी व्यवस्था र संविधानसम्बन्धी सचेतना जगाउन विद्यार्थीमाझ अदालत कार्यक्रम सञ्चालन भएको हो । शनिबार गौरीशंकर बहुमुखी क्याम्पसका कक्षा ११, १२ र स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधी दीपककुमार कार्कीसहितको टोलीले कानुनी सचेतनासम्बन्धी प्रशिक्षण दिएको थियो  । 

कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले विद्यार्थी जीवनमा कानुनबारे न्यूनतम जानकारी राख्न अपरिहार्य रहेको बताए ।  प्रशिक्षणका क्रममा कार्कीले पीडित र पीडकका बयानसम्बन्धी न्याय सम्पादनका सम्बन्धमा प्रशिक्षण गरेका थिए । कार्कीले पछिल्लो समय पीडित र पीडकले बयान फेर्ने घटना देशभर चलेको बताउँदै न्यायालयलाई न्याय सम्पादनमा समस्या हुने गरेको उल्लेख गरे । 

कार्यक्रममा सर्वोच्च अदालतका रजिस्टार निर्मला पौडेल, सहायक रजिस्टार बाबुराम दाहाल, दोलखा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ,  प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, गौरीशंकर क्याम्पसका प्रमुख शान्त केसीलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीले सचेतना कार्यक्रमले कानुनी प्रक्रियाबारे आफूहरूलाई धेरै विषयमा जानकारी प्राप्त भएको बताए ।  
 

सुझावित समाचार