आगलागीपछि खानेतेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ६ जरेखेतमा ट्रक दुर्घटनामा परेको छ । विराटनगरबाट खानेतेल बोकेर काठमाडौं जाँदै गरेको ना.५ख ५९५५ नम्बरको ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा पुगेको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी भावेश रिमालले बताए ।

डिएसपी रिमालका अनुसार खानेतेल बोकेर काठमाडौं जाँदै गरेको ट्रक अचानक आगलागी भई सडकबाट त्रिशूली नदी किनारमा खसेको हो । ट्रक बिग्रेको र बाटोमा बनाउँदै आएको चालकले जानकारी दिएका छन् ।  ट्रकको इन्जिनबाट आगलागी भई दुर्घटना भएको हो ।  मानवीय क्षति भने हुन पाएन । ट्रकले ल्याएको तेलमा ठूलो क्षति नपुगे पनि ट्रकको अगाडिको भाग जलेको डिएसपी रिमालले बताए ।

इलाका प्रहरी कार्यालय गजुरीका डिएसपीसहितको जनपथ प्रहरीको टोली र आदमघाटस्थित सशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको हो । प्रहरी र स्थानीयले समयमै उद्धार गर्न सकिएकोले दुर्घटनास्थलमा मानवीय क्षति हुनबाट जोगिएको डिएसपी रिमालले बताए । तेल बोकेको ट्रकमा आगो सल्किए पनि समयमै आगो नियन्त्रणमा लिन सकिएकाले थप क्षति हुनबाट जोगिएको उनको भनाइ छ । 

See More On

सुझावित समाचार