पुल निर्माण गर्दा मृत्यु भएका मजदुरका परिवारले पाए पाँच लाख राहत

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण
पुल निर्माण गर्दा मृत्यु भएका मजदुरका परिवारले पाए पाँच लाख राहत

पुल निर्माण गर्ने क्रममा मृत्यु भएका चैनपुर नगरपालिका–१ का निङ्मा नुर्व शेर्पाका बुवालाई शुक्रबार राहत रकम हस्तान्तरण गरिंदै । तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका

संखुवासभामा पुल निर्माण गर्दा मृत्यु भएका मजदुरका परिवारले राहत रकम पाएका छन्। शुक्रबार एक कार्यक्रमबीच जिल्ला प्रशासन कार्यालय संखुवासभामा मृतक मजदुरका बुवालाई लुम्बिनी जनरल इन्स्योरेन्सले पाँच लाख रुपैयाँ भुक्तानी गरेको हो। 

चैनपुर नगरपालिका–१ का निङ्मा नुर्व शेर्पाका परिवारलाई उक्त राहत रकम हस्तान्तरण गरिएको पूर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख इन्जिनियर शैलेन्द्र सिंहले जानकारी दिए। 

मृतकका परिवारलाई संयुक्त रूपमा पूर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख सिंह र लुम्बिनी जनरल इन्स्योरेन्स खाँदबारी शाखाका प्रमुख दुर्गा गौतमले उक्त रकम हस्तान्तरण गरेका हुन्। गत वैशाख १६ गते संखुवासभाको चैनपुर नगरपालिका–१ याङ्सिजुङमा स्थानीय निदुवा खोलाको झोलुंगे पुलको लठ्ठा तान्ने क्रममा भिरबाट लडेर शेर्पाको मृत्यु भएको थियो। 

मृतक शेर्पाका बुबालाई प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको रोहबरमा पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। पूर्वाधार विकास कार्यालयले चैनपुर–१ याङ्सिजुङ र मादी–९ को फाविङ गाउँ जोड्ने झोलुंगे पुल निर्माण गरेको थियो। 

२०७८ पुस ६ गते सम्झौता भएको पुल २०७९ असार ६ गते निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालयका प्रमुख सिंहको भनाइ छ। उक्त झोलुंगे पुल निर्माण भएपछि एक हजार ५ सय घरधुरी लाभान्वित भएका छन्। ५१ लाख ७२ हजार १६२ रुपैयाँमा निर्माण भएको झोलुंगे पुलको लम्बाइ ८५.५ मिटर रहेको छ।

संखुवासभाका विभिन्न गाउँ–गाउँमा झोलुंगे पुल निर्माण भएपछि स्थानीयले राहत पाएका छन्। वल्लोगाउँ र पल्लोगाउँ जोड्ने पुल नहुँदा मानिसहरू घण्टौँसम्म घुमाउरो बाटो भएर हिँड्नुपर्ने बाध्यता थियो। 

See More On

सुझावित समाचार