केन्या–नेपाल टी–२० शृंखला : दोस्रो खेलमा नेपाल पराजित

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको छ । नौरोबी जिमखानामा शुक्रबार भएको खेलमा एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनमा समेटियो । बिहीबारको खेलमा नेपाल विजयी भएको थियो ।

शुक्रबारको खेलमा नेपालका आरिफ सेखले सर्वाधिक २५ रन बनाए । २१ बलमा २ चौका र १ छक्का प्रहार गरेका आरिफ रनआउट भए । उपकप्तान रोहितकुमार पौडेल र आदिल अन्सारीले समान २० रन बनाए । रोहितले २५ बलमा दुई चौका हाने । यस्तै, आक्रामक ब्याटिङ गरेका आदिलले १३ बलमा एक चौका र एक छक्कासहित २० रनको योगदान गरे । ओपनर पवन सराफले २६ बलमा १९ रन बनाए । यसबाहेक नेपालका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

नेपालका पवन र रोहितले ३३ रनको साझेदारी गरे भने आरिफ र आदिलले २६ रनको साझेदारी गरेका थिए । सुरुवाती १० रन बनाउँदा आसिफलाई गुमाएको नेपालले अर्काे एक रन जोड्दा ज्ञानेन्द्रलाई गुमाएको थियो । ४४ रन जोड्दा तेस्रो विकेटका रूपमा पवनलाई गुमाएको नेपालले ५१ रन जोड्दा दीपेन्द्रलाई गुमायो । ५९ रन बनाउँदा रोहित आउट भए भने ८५ रन बनाउँदा आदिल क्रिज छोड्न बाध्य भए । एक सय चार रन बनाउँदा आरिफ आउट हुँदा करण केसी एक सय आठ रन बनाउँदै बाहिरिए । सन्दीपलाई एक सय १२ रन बनाउँदा गुमाएको नेपालले एक सय १४ रन बनाउँदा सोमपाललाई गुमायो । 

केन्याका इमानयुल बुन्डी, लुकास ओलुओच र भिरज पटेलले समान दुई विकेट लिए । बुन्डीले चार ओभरमा २७ रन खर्चिँदा लुकासले समान ओभरमा २३ रन खर्चिए । तीन ओभर मात्रै बलिङ गरेका पटेलले १६ रन खर्चिए । यसबाहेक इगुइन ओचिइङ र नेहेमियाले समान एक–एक विकेट लिए । 

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । उसका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडे । पटेलले ज्ञानेन्द्रको हातबाट क्याच आउट हुनुअघि २५ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । निहिमिआ अधिआम्बोले २९ रनको योगदान गरे । २० बलमा चार चौका र एक छक्का हिर्काएका अधिआम्बोलाई दीपेन्द्रले बोल्ड गरे । 

इरफान करिमले २२ रन जोडे । उनलाई पवन सराफले ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । सचिन भुदियाले १४ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

सन्दीप र दीपेन्द्रले लिए समान तीन विकेट 
नेपालका कप्तान सन्दीप र दीपेन्द्रले समान तीन विकेट लिएका थिए । सन्दीपले चार ओभरमा २६ रन खर्चिए भने दीपेन्द्रले तीन ओभरमा १६ रन खर्चिए । यसबाहेक करण केसीले तीन ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिए भने पवन सराफले एक विकेट लिए । तेस्रो खेल आइतबार हुनेछ ।

See More On

सुझावित समाचार