विश्वमा कति छ सुन ?

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण
  • गरगहनामा ९४,४६४ टन
  • ढिक्का वा सिक्काका रूपमा ४५,४५६ टन
  • विनिमय सञ्चिति ३४,५९२ टन
  • अन्य प्रयोजनमा ३०,७२६ टन
  • जमिनुमनिको प्रमाणिक मौज्दात  करिब ५३,००० टन

वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजिसी)को तथ्यांकअनुसार मानव सभ्यताको सुरुवातयता सन् २०२१ सम्म दुई लाख पाँच हजार दुई सय ३८ टन सुन उत्खनन भएको छ । यसमध्ये पनि दुईतिहाइ परिणामको सुन सन् १९५० पछि मात्रै उत्खनन भएको हो । अहिलेसम्म उत्खनन गरिएको शुद्ध सुनलाई घनाकार रूप दिने हो भने त्यसबाट करिब २२ घनमिटरको क्युब बनाउन सकिन्छ । 

कहाँबाट आयो सुन ? 
पृथ्वीमा सुन कहाँबाट आयो भन्ने सम्बन्धमा दुईखाले अनुमान छ । पहिलो हो, मेटोरेइट सिद्धान्त । यसअनुसार पृथ्वीले ग्रहको आकार लिएको करिब २० करोड वर्षपछि अर्थात् अहिलेभन्दा दुई अर्ब २० लाख वर्षअघि अन्तरिक्षबाट पृथ्वीमा बज्रिन आइपुगेका उल्कापिण्डहरूबाट यहाँ सुन आएको हुनुपर्छ ।

दोस्रोचाहिँ ‘मेन्टल’ थ्यौरी हो, जसअनुसार पृथ्वीको बाहिरी पत्रभन्दा मुनिको तातो लाभाको रूपमा रहेको ‘मेन्टल’ तहबाट भौगर्भिक हलचलका कारण सुन पृथ्वीको सतह वा माथिल्लो पत्रमा आएको हुनुपर्छ । तर, पहिलो सिद्धान्तलाई नै बढी विश्वसनीय मानिन्छ । 

सुनको शुद्धता
२४ क्यारेटको सुनलाई शुद्ध मानिन्छ । २२ क्यारेट सुनमा ९२ प्रतिशत र १८ क्यारेट सुनमा शुद्ध सुनको मात्रा ७५ प्रतिशत हुन्छ । नेपालमा भने सामान्यतः २४ र २२ क्यारेटको सुन प्रयोग गर्ने गरिन्छ । शुद्ध सुनको मात्रा ५८.५ प्रतिशत मात्रै भएको सुनलाई १४ क्यारेट भनिन्छ ।

१० क्यारेटमा सुनको मात्रा ४१.७ प्रतिशत हुन्छ । सुनमा चाँदी, तामा, जस्ता, निकल, फलाम, प्लाटिनियम, पालाडियमजस्ता धातु मिसाएर पनि गरगहनामा प्रयोग गरिन्छ । सुनलाई हावा, आर्द्रता वा अन्य तत्वहरूले निकै कम मात्र बिगार्छ, त्यसैले यसलाई पवित्र पनि मानिन्छ । 

नेपालमा भने सामान्यतः २४ र २२ क्यारेटको सुन प्रयोग गर्ने गरिन्छ । शुद्ध सुनको मात्रा ५८.५ प्रतिशत मात्रै भएको सुनलाई १४ क्यारेट भनिन्छ । १० क्यारेटमा सुनको मात्रा ४१.७ प्रतिशत हुन्छ ।

सुनको प्रयोग के–केमा कति ?
सुनको सबैभन्दा ठूलो परिमाण गरगहनामा प्रयोग भएको पाइन्छ । तथ्यांकअनुसार उत्खनन भएकोमध्ये सबभन्दा धेरै ४६ प्रतिशत अर्थात् ९४ हजार चार सय ६४ टन सुन गरगहनाका रूपमा प्रयोग भएको देखिन्छ । सुनको दोस्रो ठूलो प्रयोग विशुद्ध धनको रूपमा गरेको पाइन्छ । ४५ हजार चार सय ५६ टन सुन सिक्का वा ढिक्का(बार)को रूपमा मानिसहरूले धनका रूपमा राखेका छन्, जुन करिब २२ प्रतिशत हुन आउँछ ।

यसैगरी, विश्वका सबैजसो मुलुकका केन्द्रीय बैंकले सुनलाई विनिमय सञ्चितिका रूपमा राख्ने गरेका छन् । सुनको तेस्रो ठूलो परिणाम विनिमय सञ्चितिका रूपमा रहेको पाइन्छ । विश्वका केन्द्रीय बैंकहरूले बचतको रूपमा राखेको सुनको परिणाम ३४ हजार पाँच सय ९२ टन छ, जुन कुल सुनको १७ प्रतिशत हुन आउँछ । १५ प्रतिशत (३० हजार ७२६ टन) सुनचाहिँ अन्य प्रयोजनमा खपत भएको छ ।

सुनलाई विद्युतीय सामग्री बनाउन, दाँत उपचारमा, विद्युतीय तार, औषधि, विकिरण कवच, ग्लासलाई रंगीन बनाउन पनि प्रयोग गरिन्छ । जमिनमुनि खानीमा प्रमाणिक मौज्दातका रूपमा लगभग ५३ हजार टन रहेको डब्लुजिसीको दाबी छ । विश्वमा प्रत्येक वर्ष २५००–३००० टन सुन उत्खनन हुने गर्छ ।

सुनसम्बन्धी केही तथ्य 
- सुन अत्यन्त कमलो धातुमा पर्छ । कोमल भएकै कारण एकग्राम सुनलाई आठ किलोमिटरभन्दा लामो धागोको रूप दिन सकिन्छ । 

- सुनमा लचकता पनि धेरै हुन्छ । कुनै पनि धातुमा लचकपन कति छ भनेर मापन गर्ने तरिका भनेको त्यो धातुलाई पिटेर कतिसम्म पातलो च्यादर (सिट)मा बदल्न सकिन्छ भनेर हेर्ने हो । एक अउन्स (२८.३४ ग्राम) शुद्ध सुनलाई पिटेर तीन सय वर्गफिटको सिट बनाउन सकिन्छ । यसलाई पारदर्शी हुने गरी नै पातलो पत्रमा ढाल्न सकिन्छ । सुनले रातो र पहेंलो रंगलाई परावर्तन गरिदिने भएकाले सुनको धेरै पातलो पत्रमा हरियो–निलो आभा देखिन थाल्छ । 

- उत्खनन गरिएको सम्पूर्ण सुनबाट पाँच माइक्रोन मोटो तार बनाउने हो भने त्यसले विश्वलाई एक करोड १२ पटक बेर्न सकिन्छ । 

- सुन उम्लिने तापक्रम २८ सय आठ डिग्री सेन्टिग्रेट हो भने एक हजार ६४ डिग्रीमा पग्लिन्छ । 

- सुन शुद्ध अवस्थामा गन्ध र स्वादरहित हुन्छ ।

धेरै सुन बचत राख्ने पाँच मुलुक 

अमेरिका : ८ हजार १३३ टन

सबभन्दा धेरै सुन बचत अमेरिकाले राखेको छ । सन् २०२२ को पहिलो त्रैमासिकको तथ्यांकअनुसार अमेरिकाको केन्द्रीय बैंक (फेड)ले आफ्नो भल्टमा आठ हजार एक सय ३३ टन सुन विनिमय सञ्चितिका रूपमा राखेको छ । अन्तर्राष्ट्रिय विनियम प्रणाली सुनमा आधारित भएको समयमा फेडको भल्टमा विश्वका सबैजसो मुलुकले आफ्नो मुद्रा सुनमा पेग गर्थे । सो समय विश्वभरका केन्द्रीय बैंकले मुद्रा निष्कासन गर्दा धितोका रूपमा सुन फेडमा राख्ने गर्थे । विश्वका केन्द्रीय बैंकहरूसँग भएको ९०–९५ प्रतिशत सुन फेडको भल्टमा आइपुग्थ्यो । 

जर्मनी : ३ हजार ३५९ टन

जर्मनीको केन्द्रीय बैंकसँग तीन हजार तीन सय ५९ टन सुन बचतमा छ । उसले सुनको बचत फ्रयांकफर्टस्थित केन्द्रीय बैंक, अमेरिकी केन्द्रीय बैंक, न्युयोर्क र बैंक अफ इंग्ल्यान्डमा राखेको छ । 

इटली : २ हजार ४५१.८ टन

सुनको तेस्रो ठूलो बचतकर्ता इटलीले दुई हजार चार सय ५१ दशमलव आठ टन सुन केन्द्रीय बैंकको भल्टमा राखेको छ । युरोपमा मन्दीको संकट छाएको समयमा केहीले इटलीको सरकारलाई बचत सुन बेचेर पैसाको जुगाड गर्ने सल्लाहसमेत दिएका थिए, तर उसले बेचेन । 

फ्रान्स : २ हजार ४३६.५ टन

विश्वमा फ्रान्स सुनको चौथो ठूलो बचतकर्ता हो । फ्रान्ससँग दुई हजार चार सय ३६ दशमलव पाँच टन सुन बचतमा छ । 

रुस : २ हजार २९८.५३ टन

सन् २०१८ बाट चीनलाई उछिनेर रुस सुनको पाँचौँ ठूलो बचतकर्ता भएको छ । रुससँग २ हजार २९८.५३ टन सुन छ । रुसले सुनको बचत बढाउनुलाई कतिपयले उसको लगानी विविधीकरणका रूपमा पनि हेर्ने गर्छन् । रुसले सुन किन्नकै लागि अमेरिकी ऋणपत्र बेच्नेसमेत गरेको थियो । युक्रेनयुद्धपछि भने उसले आफ्नो कोषमा सुन थप्न सकिरहेको छैन । 

– एजेन्सीहरूको सहयोगमा 

See More On

सुझावित समाचार