कांग्रेसको निर्देशन– गठबन्धन हुँदा छाड्ने प्रतिबद्धतासहित उम्मेदवारको नाम सिफारिस गर्नू

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

कांग्रेसले तालमेल हुँदा आफूले नपाउने निर्वाचन क्षेत्र छाड्ने प्रतिबद्धतासहित पार्टीका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । परिपत्रमा सिफारिसमा परेकाबाट पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउने प्रतिबद्धता खोजिएको छ । कांग्रेसले सबै प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरी २० भदौभित्र केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्न मापदण्डसहित परिपत्र गरेको हो । महामन्त्री गगन थापाले गरेको परिपत्रमा सत्ता गठबन्धनमा अर्को दलको उम्मेदवारको नाममा सहमति भएको अवस्थामा कांग्रेसले उम्मेदवारी नरहने उल्लेख छ ।

‘निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णयको व्यहोरा अवगत नै छ । सोही निर्णयअनुसार सत्ता गठबन्धनमा रहेका दलहरूबीच हुने सहमतिबमोजिम प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य पदको प्रत्यक्षतर्फको सिटको बाँडफाँड गरिएअनुसार मुलुकका प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवार खडा गरिनेछ,’ परिपत्रमा छ, ‘देशभरका एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये जुन–जुन निर्वाचन क्षेत्रमा गठबन्धनमा रहेका अन्य दलको उम्मेदवार रहने भनी सत्ता गठबन्धनमा रहेका दलहरूका बीचमा सहमति हुन्छ, सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी रहनेछैन ।’

परिपत्रमा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि १६ भदौभित्र जिल्ला कार्यसमितिमा सिफारिस गर्न, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा १८ भदौभित्र जिल्ला कार्यसमितिबाट प्रदेश कार्यसमितिमा पठाउन, एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि १८ भदौभित्र उम्मेदवारको नाम कार्यसमितिमा पठाउन र प्रदेश कार्यसमितिले २० भदौेभित्र केन्द्रमा पठाउनुपर्ने उल्लेख छ । परिपत्रमा ०७४ को प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकबाट निर्वाचित व्यक्तिको नाम सोही कोटामा सिफारिस गर्न नपाइने उल्लेख छ । ‘०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य पदको समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्ने,’ परिपत्रमा छ ।
 

सुझावित समाचार