लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ अर्खले गाउँका पहिरोपीडितले यो दसैँमा नयाँ घर पाउने भएका छन्। दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपालमुनि कष्टकर जीवन बिताउँदै आएका छन्। उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।
निजी आवास निर्माण कार्य दसैँअगावै सम्पन्न हुने भएकाले दसैँबाट नयाँ घरमा बस्न पाउने भएका हुन्। गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए।
पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा एक घर निर्माणाधीन अवस्थामा छ। नयाँ घर निर्माण तीव्र गतिमा अघि बढिरहेकाले उनीहरूले दसैँमा नयाँ घरमा बस्न पाउने गुरुङको भनाइ छ। ०७७ सालमा अर्खले गाउँमा पहिरो आएपछि सिंगाे गाउँ नै विस्थापित भएको थियो। घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरू यसपालिको दसैँमा नयाँ घर पाउने भएपछि हर्षित छन्।
प्रतिपरिवारका लागि सात लाखको लागतमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ। उक्त रकममध्ये जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख बजेट छुट्याइएको छ।