इलेक्ट्रोनिक्स र स्मार्टफोनको ब्रान्ड सामसङले नेपालको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपालमै टिभी उद्योग स्थापना गर्ने भएको छ । नवलपरासीमा स्थापना गर्न लागिएको कारखानाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सिएफओ एचके पार्कको उपस्थितिमा शिलान्यास भएको हो ।
शिलान्यासपछि सामसङ दक्षिण–पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर नवलपरासीमा स्थापना गर्न लागेको एलइडी टिभी कारखाना नेपाली जनताप्रतिको निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनप्रति उपभोक्ताले देखाएको बढ्दो विश्वास एवं मायाको प्रतीक भएको बताए ।
सोही समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ टिभी कारखाना नेपालका लागि एउटा कोसेढुंगा साबित हुने बताए । उनले भने, ‘कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्वबजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ । यो हाम्रो सामसङसँगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।’
यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको सुरुवात गर्ने हिम इलेक्ट्रोनिक्सले जनाएको छ । स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कार तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रूपान्तरण गर्ने सम्भावना व्यापक बनाएको कम्पनीको भनाइ छ । यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसर सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्ने कम्पनीको दाबी छ ।
कारखानाले सन् २०२३ देखि उत्पादन सुरु गर्ने लक्ष्य लिएको जनाइएको छ । नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो । हाल यसले आफ्नो साझेदारमार्फत नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादन टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेब र स्मार्ट फोन बिक्री वितरण गर्दै आइरहेको जनाएको छ । नेपालमा पाँच सयभन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रको बलियो सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको कम्पनीको दाबी छ ।