मुगुको महाकाली नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना अपांग बहिरा बालबालिकाको विशेष शिक्षाका लागि छात्रवास भवन निर्माण गरिएको छ । ब्याक टु लाइफ जर्मनीको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक नेपाल) मुगुको प्राविधिक सहयोग र महाकाली नमुना माविको समन्वयमा अपांग बहिरा बालबालिकाको आवासका लागि दुईतले (१६ कोठे) सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण गरिएको छ ।
सोमबार एक कार्यक्रमका बीच छायानाथ–रारा नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, काबा जिल्ला समन्वय प्रमुख, समन्वय अधिकारी, वडाध्यक्ष नागरिक समाज, सञ्चारकर्मीलगायतको उपस्थितिमा उक्त छात्रवास भवन महाकाली नमुना माविलाई हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि फरक क्षमता भएका अपांग बहिरा (बाेल्न नसक्ने) बालबालिकालाई बस्नका लागि जीर्ण भवनमा कष्ट हुँदै आएको र उनीहरूलाई बस्न, खान, सुत्न र विशेष अध्यानका लागि निकै समस्या भएकाले छात्रवास भवन निर्माण गरिएको हो ।
३० जना अट्ने क्षमता भएको यस भवनमा चारवटा शौचालय, भान्सा, डाइनिङ हल, मिटिङ हलसहितको व्यवस्था छ । छात्र र छात्राका लागि छुटाछुट्टै आवास र सुत्ने कोठा बनाइएको छ । दुईजना शिक्षकका लागि छुट्टै कोठाको व्यवस्था छ ।
यस विद्यालयमा २४ वटा अपांग बहिरा बालबालिकाका लागि कोटा भए पनि हाल नौजना छात्र र नौजना छात्रा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक खडकबहादुर रोकायाले जानकारी दिए ।
एक करोड ३५ लाख ८९ हजार खर्च
भवन निर्माण गर्दा एक करोड ३५ लाख ८९ हजार रकम खर्च भएको हेरेन्डेक नेपाल मुगुले जनाएको छ । जसमा बाहिरबाट खरिद गरेको सामानको मूल्य ८५ लाख ८० हजार, ज्याला तथा स्थानीय सामान ३८ लाख १९ हजार र फर्निचर तथा उपकरण खरिदमा ११ लाख ८९ हजार खर्च भएको छ । निर्माण सुरु भएको करिब दुई वर्षमा उक्त भवन हस्तान्तरण गरिएको छ ।