तिजको दर खाएका एउटै गाउँका सयभन्दा बढी बिरामी

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

अधिकांश बिरामीमा पेट दुख्ने, बान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको छ

गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका– ७ मान्द्रेढुंगाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् ।  

वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्,’ उनले भने, ‘बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।’  

स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको श्रेष्ठले बताए । अहिले बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको छ। बिरामी परेकाहरू अहिले बिस्तारै निको हुँदै गएका छन् ।

केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिइन् । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएको छ  ।

बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन् ।
 

See More On

सुझावित समाचार