राजदूत अधिकारीले गरे नेपालमा लगानीका लागि पाकिस्तानी व्यवसायीलाई आग्रह

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले लाहोर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष मियाँ नउमन कविर र सदस्यसँग लाहोरमा अन्तत्र्रिmया गरेका छन् । राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप मजबुत बनाउँदै द्विपक्षीय हितमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । 

दुई देशबीच सम्बन्ध सधैँ उत्कृष्ट रहेको बताउँदै राजदूत अधिकारीले सार्कका सदस्य मुलुक नेपाल र पाकिस्तानबीच लगानी, व्यापारको क्षेत्रमा थप सहकार्य हुनुपर्ने र निजी क्षेत्रको भूमिका थप प्रभावकारी हुनुपर्ने बताएका थिए । ‘नेपाल र पाकिस्तान दुवै सार्कका सदस्य हुन् र समान सांस्कृतिक र सामाजिक पृष्ठभूमि भएका छन्,’ राजदूत अधिकारीले पाकिस्तानी व्यवसायीसँग भने । 

राजदूत अधिकारीले नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापाले १९औँ शताब्दीमा लाहोरमा एक वर्ष निर्वासनमा बसेको इतिहास सुनाएका थिए । उनले काठमाडौं र लाहोरबीचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पारेका थिए । तत्कालीन प्रधानमन्त्री थापा दक्षिण एसियाकै पहिलोपटक प्रधानमन्त्री थिए । 

राजदूत अधिकारीले नेपालमा उत्कृष्ट आतिथ्य उद्योग रहेको र साहसिक पर्यटनको हब भएकाले नेपाल भ्रमणका लागि आह्वान गरे । ‘मैले नेपाल सरकारको आर्थिक नीतिअनुसार प्रत्यक्ष वैदेशिक लगानीलाई सहज बनाउने र पाकिस्तानी व्यवसायीहरूलाई व्यापार, लगानी र पर्यटनका लागि नेपाल भ्रमण गर्न निम्तो पनि दिएको छु,’ राजदूत अधिकारीले भने ।

चेम्बरका अध्यक्ष मियाँ नउमान कविरले भविष्यमा नेपाल भ्रमण गरी व्यापारको अवसर खोज्ने र नेपाली व्यवसायीसँग अन्तत्र्रिmया गर्ने कार्यक्रम बनाउने आश्वासन दिए । उनीहरूले लाहोरमा नेपाली व्यवसायीहरूलाई स्वागत गर्न तथा पाकिस्तानी उत्पादनको जानकारी आदान–प्रदान गर्न नेपालमा पाकिस्तानी व्यापार मेला आयोजना गर्न चाहेको पनि बताए । 

सन् १९२३ मा स्थापना भएको लाहोर चेम्बरले स्थापनाको शताब्दी दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । पाकिस्तानको पन्जाब प्रान्तको राजधानी भएकाले लाहोरलाई सभ्यता र संस्कृतिको केन्द्र मानिएको छ । ‘लाहोर मुगल साम्राज्य र खालसा दरबारको राजधानी थियो,’ राजदूत अधिकारीले भने, ‘लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो । लाहोर पाकिस्तानको शिक्षा र उद्योगको केन्द्र पनि हो ।’

सुझावित समाचार