सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन्। कार्य दल र शीर्ष नेताहरूबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरू वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन्।
सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शीर्ष नेताहरूबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनले भने, ‘हामी सहमतिको नजिक पुगेका छौँ। आज चाहिँ हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनुभएको कारण पनि बैठक प्रभावित भयो। हामी चाँडै नै निष्कर्षमा पुग्नेछौँ। जतिसक्दो चाँडाे टुंगो लगाउनुपर्नेछ। किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ। यसको सहज निकासका लाग वान टू वान कुरा पनि हुन्छ।’