दाङ क्षेत्र नम्बर ३ मा मेरो दाबी रहन्छ : राज्यमन्त्री केसी

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहने बताएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका केसीले यसअघि पनि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वाभाविक रूपमा दाबी रहने बताए । रिपोर्टर्स क्लब दाङको आयोजनामा सोमबार तुलसीपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले गठबन्धनबाटै चुनावमा जानुपर्ने अवस्था रहे पनि यो क्षेत्रमा आफ्नो सशक्त दाबी रहेको बताए । ‘यो क्षेत्रमा मेरो सशक्त दाबी रहन्छ,’ उनले भने, ‘म सशक्त व्यक्ति पनि हुँ, तर, पार्टीको हैसियतअनुसार पनि दिने कुरा होला, गठबन्धनको पनि कुरा छ, त्यसलाई स्वीकार गर्नैपर्छ ।’ 
 
राज्यमन्त्री केसीले टरिगाउँ एयरपोर्टको विकल्प खोज्ने विषय तत्काल आवश्यक नभएकोसमेत बताए । पत्रकारको जिज्ञासामा जवाफ दिँदै राज्यमन्त्री केसीले अहिले एयरपोर्टमा बजेट आएकाले त्यसलाई टेन्डर प्रक्रियामा अघि बढाउन भूमिका खेल्ने बताए । ‘अहिले विकल्प कहाँ खोज्ने,’ उनले भने, ‘बरु भएकैलाई स्तरवृद्धि गरौँ, यसमा म प्रतिबद्ध छु ।’ यो एयरपोर्टमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहत हुनेसमेत उनले बताए । 

साथै उनले दाङमा १८ वटा डायलाइसिस मेसिन भित्र्याउन सफल भएको भन्दै ठूलो उपलब्धि भएको बताए । यी मेसिनलाई तत्काल जडानको प्रक्रियामा अगाडि बढाउने उनले बताए । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार सय बेड बनाउन बजेट पनि विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्रसमेत आइसकेको राज्यमन्त्री केसीले बताए । साथै उपत्यकाभन्दा बाहिर सातवटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताए । निकट भविष्यमा प्रतिष्ठानलाई ६ सय शय्याको बनाउने गरी योजना अघि बढेकोसमेत उनको भनाइ छ । 
 

सुझावित समाचार