आर्थिक प्रतिबन्ध : प्रत्युत्पादक अस्त्र

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

पश्चिमा प्रतिबन्धले पश्चिमलाई नै बढी आघात गरेको छ, पुटिन भने झन्झन् बलिया हुँदै गएका छन् 

रुसविरुद्ध पश्चिमा प्रतिबन्धहरू पछिल्लो अन्तर्राष्ट्रिय इतिहासका सबैभन्दा प्रत्युत्पादक र कमजोर तरिकाले संकल्पित नीति हुन् । युक्रेनलाई सैन्य सहायता जायज छ, तर मस्कोविरुद्धको आर्थिक युद्ध भने निष्प्रभावी, बरु अनपेक्षित लक्ष्यमा भने विनाशकारी देखिएको छ । विश्वमा ऊर्जाको मूल्य आकासिरहेको छ, स्फीति बढिरहेको छ, आपूर्ति शृंखलाहरू नराम्ररी खलबलिँदा करोडौँ मानिस ग्यास, अनाज र मलखादका लागि तड्पिनुपरिरहेको छ । तर, भ्लादिमिर पुटिनको बर्बरता भने बढी मात्रै रहेको छ– जसरी आफ्ना नागरिकमा उनको पकड थप मजबुत हुँदै छ ।

पश्चिमका प्रतिबन्धको आलोचना गर्नु लगभग पाप नै हुन्छ जस्तो गरी रक्षा विश्लेषकहरू मूकदर्शक भई बसेका छन् । रणनीति चिन्तकहरू चुप्पी साधेर बसेका छन् । विचारशील भनिएका बेलायती नेताद्वय लिट्ज ट्रस र ऋषि सुनाक उपादेयताबारे एक शब्द पनि नखर्ची अहिलेसम्मकै कडा प्रतिबन्धहरूको वाचा गर्दै एकसे एक जुझारु बयानबाजी दिने प्रतिस्पर्धामा छन् । तर, यो विषयमा कसैले शंकाको संकेत मात्रै गर्यो भने पनि तपाईंलाई पुटिन समर्थित र युक्रेनविरोधीको बिल्ला भिराइनेछ । प्रतिबन्ध पश्चिमको धर्मयुद्धको आलाप भएको छ ।

रुसमाथिका प्रतिबन्धको यथार्थता के हो भने तीनले प्रतिकार निम्त्याउँछन् । पुटिन यो वर्षको जाडोमा युरोपलाई जमाउन स्वतन्त्र छन् । उनले नोर्ड स्ट्रिम–१ जस्ता मुख्य पाइपलाइनबाट ८० प्रतिशतसम्म आपूर्ति कटौती गरिसकेका छन् । विश्वमा तेलको मूल्य आकासिएको छ र पूर्वी युरोपबाट अफ्रिका र एसियातर्फ गहुँ र अन्य खाद्यवस्तुहरूको प्रवहण ठप्पप्रायः छ ।

बेलायतमा ग्यासको मूल्य यो वर्ष मात्रै बढेर तेब्बर भएको छ । यसको मुख्य लाभग्राही अरू कोही नभएर रसिया नै हो । उसको एसियातर्फको ऊर्जा निर्यात विस्तार हुँदा भुक्तानी सन्तुलन अभूतपूर्व रूपले बचतमा गएको छ । जनवरीयता करिब ५० प्रतिशतले बलियो भएर रुबल यो वर्षकै बलियो मुद्रामध्ये एक भएको छ । मस्कोको विदेशमा रहेका सम्पत्ति रोक्का छन् अनि त्यहाँका कुलीनहरूले आफ्ना डुङ्गाहरू सुरक्षित स्थानतर्फ लग्नुपर्यो तर पुटिनलाई त्यसको कुनै पर्वाह रहेको संकेतसमेत छैन । किनकि उनले मतदाताको चिन्ता गर्नुपर्ने अवस्था नै छैन । 

क्युबादेखि कोरियासम्म, म्यानमारदेखि इरानसम्म,भेनेजुएलादेखि रसियासम्मका निरंकुश सत्तालाई प्रतिबन्धले हल्लाउन सकेको छैन । प्रतिबन्धले कुलीनहरूलाई थप मजबुत बनाएको छ, स्वतन्त्रता भने थप कुल्चिएको छ ।
 

अर्थतन्त्रहरूको अन्तरनिर्भरतालाई लामो समयदेखि शान्तिको उपकरणका रूपमा हेरिएको थियो, तर अहिले त्यसैलाई युद्धको हतियार बनाइएको छ । नाटोको टेबलवरपर बस्ने राजनीतिज्ञहरू युक्रेनलाई सैन्य सहयोग बढाउने विषयमा एकदमै सतर्क देखिन्छन् । उनीहरूले सैन्य प्रतिरोधलाई बुझेका पनि होलान् । तर, उनीहरू युद्धको अर्थशास्त्रबारे एकदमै बेखबर देखिए । यहाँनेर उनीहरू शीतयुद्धको समयमा आफूभन्दा माथिका अधिकारीलाई जानकारी नै नदिई रसियामाथि बी–५२ बमवर्षक पठाएर विश्वलाई आणविक युद्धको सँघारतर्फ धकेल्न पुगेका अमेरिकी सैन्य अधिकारी डा. स्ट्रयाङलोभकै अवतार साबित छन् । उनीहरू रुसी अर्थतन्त्रमाथि बम बर्साएर ढुंगेयुगमा फर्काउन चाहन्छन् । 

बोरिस जोन्सनको मन्त्रिपरिषद्मा रुसमाथिको बेलायती प्रतिबन्धका सम्भावित दुष्परिणाम प्रक्षेपण गर्ने कुनै एउटासमेत प्रतिवेदन पेस गरिएको भए त्यो जान्न म उत्सुक हुनेछु । व्यापार बन्देजहरूले आघात पुर्याए भने तिनले काम गरिरहेको हुन्छ भन्ने धारणा देखिन्छ । आर्थिक प्रतिबन्ध सीधै मानिस नमारे पनि यी पनि कुनै न कुनै रूपमा आक्रमणका स्वीकार्य स्वरूप नै हुन् । पश्चिमा मुलुक विश्वलाई आफूले चाहेजसरी चलाउन हकदार छन् भन्ने नव–साम्राज्यवादी कल्पनामा आधारित छन् । आर्थिक प्रतिबन्ध बन्दुकमार्फत होइन कि विश्वव्यापीकृत अर्थतन्त्रमा पुँजीवादी मांसपेशीहरूमार्फत लादिन्छन् । अधिकतर साना र कमजोर मुलुकमाथि थोपरिन्छन् ।

अमेरिकी आर्थिक इतिहासकार निकोलास मुल्डर यस विषयका एक विरलाकोटी विद्यार्थी हुन्, जसले बितेका ५० वर्षको अवधिका प्रत्युत्पादक र निष्प्रभावी ३० भन्दा धेरै प्रतिबन्ध ‘युद्ध’लाई औँल्याएका छन् । प्रतिबन्धहरूको अर्थ ‘शासकलाई रोक्न सर्वसाधारणलाई त्रसित बनाउने’ भन्दा केही होइन । तर, केही भएको छ भने उल्टो असर परेको छ । क्युबादेखि कोरियासम्म, म्यानमारदेखि इरानसम्म, भनेजुयलादेखि रसियासम्मका निरंकुश सत्तालाई प्रतिबन्धले हल्लाउन सकेको छैन । प्रतिबन्धले कुलीनहरूलाई थप मजबुत बनाएको छ, स्वतन्त्रता भने थप कुल्चिएको छ । प्रतिबन्धले कमजोर सिकारहरूलाई समेत आत्मनिर्भरता र स्थायित्वचाहिँ दिएको देखिन्छ । लगभग विश्वका सबैजसो पुराना तनाशाहले पश्चिमका प्रतिबन्धबाट लाभ लिएका छन् ।

मस्को न त सानो छ, न कमजोर । अर्का अवलोकनकर्ता, रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका रसियाविद् रिचार्ड कोनोल्लीले पुटिनले सन् २०१४ मा क्राइमिया र डोनवासलाई कब्जा गरेयता थोपरिएका प्रतिबन्धहरूविरुद्ध उनका प्रतिक्रियालाई रेखांकित गरेका छन् । पश्चिमका प्रतिबन्धहरूको उद्देश्य ती क्षेत्रमा रुसको रुख बदल्ने र थप आक्रमण गर्नबाट रोक्ने थियो । उनीहरूको असफलता छर्लङ्गै छ । कसैले यी प्रतिबन्ध धेरै कमजोर भएकाले असफल भएको बहाना बनाउन सक्छ । तर, वर्तमानको र सम्भवतः विश्वको एउटा प्रमुख शक्तिमाथि थोपरिएको अहिलेसम्मकै कडा प्रतिबन्धले समेत काम गरिरहेको देखिँदैन, तर समय आएपछि काम गर्नेछ भनिँदै छ । माइक्रोचिप्स र ड्रोनका पार्टपुर्जाका लागि उनीहरू छट्पटाउन थालेका छन् । तिनले छिटै पुटिनसँग शान्तिको भिख माग्नेछन् ।

यदि पुटिनले मागे भने त्यो युद्धमैदानमा माग्नेछन् । रुसले कसरी आफूलाई बिस्तारै नयाँ परिस्थितिहरूमा अनुकूल गर्दै लगेको छ भनेर कोनोली वर्णन गर्छन् । प्रतिबन्धहरूले उसको चीन, इरान र भारतसँगको व्यापारलाई प्रवर्द्धन गरेको छ । पश्चिमले पुटिन र उनका भित्रियाहरूलाई आयात प्रतिस्थापनबाट ठूलो मुनाफा गराइदिएर लाभान्वित गराएका छन् । रुसमा रहेका म्याकडोनाल्डका आउटलेटहरू भिकुस्नो एन्ड टोच्का (टेस्टी एन्ड द्याट्स इट) नामक रुसी–स्वामित्वको चेनले प्रतिस्थापित गरेको छ । पक्कै पनि रुसी अर्थतन्त्र कमजोर भएको छ, तर पुटिनचाहिँ थप बलियो बनेका छन् । प्रतिबन्धहरूले एसियाव्यापी एक नयाँ आर्थिक क्षेत्रलाई जोड्दै छ र चीनको भूमिकालाई बढवा दिँदै छ । के यो प्रक्षेपित थियो ?

यसैबीच पश्चिम र उसका नागरिक मन्दीमा फस्न पुगेका छन् । बेलायत, फ्रान्स, इटली र अमेरिकाका नेतृत्व धर्मराएका छन् भने असुरक्षाको भावना व्याप्त बनेको छ । ग्यासले तड्पिएका जर्मनी र हंगेरी पुटिनको तालमा नाच्न खोज्दै छन् । दैनिक खर्च सबैतिर चुलिएको छ । तैपनि प्रतिबन्धमाथि प्रश्न उठाउने हिम्मत कसैले गर्दैनन् । उनीहरूको असफलतालाई मान्नु वा त्यसबाट पछि हट्ने कुरा गर्नु उनीहरूको अपमान हुन्छ भनेजस्तो गरिएको छ । फलतः पश्चिम आक्रमणको अन्तहीन विडम्बनामा फस्न पुगेको छ । अन्ततोगत्वा प्रतिबन्धको सबभन्दा सहज सिकार त्यो लगाउनेहरू नै हुन्छन् । आखिरकार हामीले युद्धमा टासिरहनु नै पर्छ ।

जेनकिन्स् गार्डियनका स्तम्भकार हुन् 

सुझावित समाचार