एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । शनिबार भएको पूर्ण बैठकले श्रेष्ठको अध्यक्षतामा दुई सय ८१ सदस्यीय कमिटी चयन गरेको हो । निवर्तमान अध्यक्ष कुसुमकुमार कार्की केन्द्रीय सदस्य भएपछि उनले श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताए । गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै उनले मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो औँल्याए । श्रेष्ठले कमिटीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनलक्षित कार्ययोजना तयार गरी अगाडि बढ्ने बताए ।
रामेछापबाट पौडेल, बुढाथोकी र सापकोटा सिफारिस
एकीकृत समाजवादी रामेछापले आगामी निर्वाचनका लागि प्रतिनिधिसभामा पूर्वसांसद देवशंकर पौडेलसहित तीनजनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी बैठकले पौडेलसहित होम बुढाथोकी र शान्ता सापकोटाको नाम सर्वसम्मत सिफारिस गरेको उपसचिव गणेशबाबु खड्काले जानकारी दिए ।