चौँरी बिक्री नभएपछि किसान चिन्तित

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

फक्ताङलुङ गाउँपालिका–६ का छोवाङ शेर्पाले साढे दुई वर्षअगाडि किनेका एक सय चौँरी तथा याकहरू अहिले दुई सय पुगेका छन् । कोरोनाका कारण चीनले नाका बन्द गरेपछि चौँरीका बाछा र चौँरी बिक्री नभएको हो ।उनले साढे दुई वर्षअघि एक सय चौँरी चीनतर्फ लगेर बेच्नका लागि प्रतिगोटा ६५ हजारका दरले ६५ लाखमा किनेका थिए । तर, चाैँरी किनेपछि कोरोनाका कारण चीनतर्फ लाने नाका बन्द भएपछि अहिले बढेर दुई सय पुगेका छन् ।

उनका मात्र होइन, घुन्साका डन्डु शेर्पाका पनि चौँरी गाईहरू बढेर २५ देखि ५० पुगेको बताउँछन् । नाका बन्द हुनुभन्दा अगाडि घुन्सा, ओलाङचुङगोला, याङ्मा साथै याम्फुदिनमा एक हजार पाँच सयजति चौँरी रहेकामा अहिले ओलाङचुङगोलामा मात्र एक हजार पाँच सय चौँरी रहेको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए । 

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइदेखि पाँच हजार मिटरसम्मको उचाइमा चौँरीको व्यावसायिक रूपमा पालन गरिँदै आएको छ । चरनको अभावले कञ्चनजंघा संरक्षण क्षेत्रभित्र तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको फेदीमा चौँरी गोठहरू पुर्याउने गरिन्छ ।  हिमाली समुदायको प्रमुख पुख्र्यौली पेसाका रूपमा रहेको चौँरी परापूर्वकालदेखि नै चीनको स्वशासित क्षेत्र तिब्बततिर बिक्री हुँदै आएको छ । 

ओलाङचुङगोला क्षेत्रमा एक हजार पाँच सय, घुन्सा क्षेत्रमा पाँच सय, याम्फुदिनमा सात सयवटा चौँरी गरी दुई हजार सात सय रहेका छन् । कञ्चनजंघा संरक्षण क्षेत्रले नेपाल सरकारको ८० प्रतिशत र कञ्चनजंघा संरक्षण क्षेत्र र पशुपालक कृषकको २० प्रतिशत लगानी तथा संरक्षण क्षेत्रको प्राविधिक सहयोगमा अहिले पशुपालक कृषकको मागलाई हेरेर आठ सय याक तथा चौँरीको बिमा गर्न लागिएको समेत कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।

चीनका विभिन्न क्षेत्रमा नेपाली चौँरीका बाछा र चौँरीबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तुहरू चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङ्माका छोवाङ शेर्पाले बताए । चीनका बजारमा प्रतिगोटा चौँरी ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । छुर्पी र घिउ प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा बिक्री हुने गरेको बताइन्छ । ताप्लेजुङमा नौ स्थानीय तहमध्ये फुङलिङ नगरपालिका र पाथीभरा याङ्बरक गाउँपालिकाबाहेक सात गाउँपालिकामा चौँरी व्यावसायिक रूपमा पालन हुँदै आएको छ । 

 चौँरीलाई नुनको समेत समस्या
चीनको नाका बन्द भएपछि चौँरीलाई दिने नुनको समेत समस्या भएको छ । चीनतर्पmबाट ल्याएको नुन खाँदै आएका चौँरीहरू भारतबाट ल्याएको नुन खुवाउँदा बिरामी परेका छन् । नेपाली बजारमा किनेको नुन खुवाउँदा चौँरीहरूमा छेर्ने, झोक्राउने तथा घाँस नखाने समस्या भएको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष छेतेन शेर्पाले बताए ।

See More On

सुझावित समाचार