प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।  गिरिका स्वकीय सचिव कृष्ण खनालका अनुसार साँझ १० बजेसम्म उनलाई भेन्टिलेटरमा नै राखिएको छ र स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

‘उहाँलाई भेन्टिलेटरमा राखिएको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर नै छ,’ खनालले नयाँ पत्रिकासँग भने । गिरि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि साँझ साढे ९ बजेसम्म स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए । ‘भेन्टिलेटर सपोर्टमा नै राखिएको छ । पहिलेकै स्थितिमा हुनुहुन्छ,’ उनले नयाँ पत्रिकासँग भने । 

मेडिसिटीमा डा. पंकज वर्मनसहितको चिकित्सक टोलीले गिरिको उपचार गरिरहेको छ । निमोनिया निको हुन नसकेको तथा घाँटीमा देखिएको क्यान्सर अन्य भागमा पनि फैलिँदै गएकाले थप समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । 

झन्डै एक वर्ष भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर साउन दोस्रो साता स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । 
प्रधानमन्त्री शेरबहादुर देउवाले गत मंगलबार तथा बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । आज दिनभर कांग्रेस नेता, कार्यकर्ता तथा गिरिका शुभचिन्तक अस्पताल पुगेका थिए । 

सुझावित समाचार