नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालका बामपन्थी दलहरुले नै गणतन्त्रमाथि हमला गरिरहेको आरोप लगाएका छन्। राष्ट्रिय जनमोर्चा बागलुङले शुक्रबार आयोजना गरेको जिल्ला प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महामन्त्री सिंहले बामपन्थी आन्दोलमा सक्रिय दलले नै गणतन्त्रमाथि हमला गरेको बताएका हुन्।
केही ठूला भनिएका कम्युनिष्ट पार्टीहरु प्रतिगमतको बाटोतिर लाग्दा त्यसका विरुद्ध अहिले पाँचदलीय गठबन्धनको मोर्चा बनेको सिंहकाे तर्क छ। ‘हामीले तिनै प्रतिगामी तत्वलाई पराजित गर्नका निम्ती गठबन्धन गरेका हौं,’ उनले भने, ‘निरन्तर पाँच दलीय गठबन्धनका कारण प्रतिगामी तत्वहरु पराजित हुँदै गइरहेका छन्। प्रतिगामीहरु पराजित भए मात्र गणतन्त्र र धर्मनिरपेक्षता जोगिन्छ।’
महामन्त्री सिंहले आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा प्रतिगामीहरुलाई थप हराउन पनि गठबन्धन गरेर जानु आवश्यक रहेको बताए। एमाले अध्यक्ष केपी ओलीले दुईपटकसम्म संसद् विघटन गरेर प्रतिगमन गरेको उल्लेख गर्दै उनले ०१७ र ०५९ सालको राजाको कुभन्दा त्यसको असर बढि हुने उल्लेख गरे।
भारतमा भाजपाजस्तो हिन्दुवादीले सरकारकोे नेतृत्व गर्दा नेपालमा राजनीतिक तरलता हुने भन्दै सिंहले उनीहरु नेपालमा हिन्दु राज्य र राजसंस्था स्थापना गर्न सक्रिय हुने बताए। उनीहरुको कदममा नेपालका बामपन्थी दलहरुले पनि साथ दिनु दुःखद रहेको उनकाे भनाइ छ।