माओवादी केन्द्रकी सांसद इन्दुकुमारी शर्माले संविधान बनेको सात वर्षभन्दा बढी भइसक्दा पनि नागरिकले नागरिकता नपाएको भन्दै आापत्ति जनाएकी छिन्। संसद्को पहिलो कार्यकाल समाप्त हुनै लाग्दासमेत नागरिकतामा राजनीति गरिएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन्।
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले राजनीतिक दलहरू गम्भीर नहुँदा लाखौँ नागरिक अनागरिक बनेका टिप्पणी गरिन्। ‘संविधान जारी भएको सात वर्षभन्दा बढी भइसक्यो। संसद्को पहिलो कार्यकाल पनि समाप्त हुन लागिसक्यो। नागरिकतामा सधैँ राजनीति गरियो । राजनीतिक दलहरूले यसलाई गम्भीरतापूर्वक नलिँदा आज लाखौँ नागरिक अनागरिक भई नागरिकताबाट वञ्चित भएका छन्,’ उनले भनिन्।
संसद्को दुवै सदनले पास गरेर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएर लाखौँ नागरिकको अधिकारमाथि कुठाराघात गरेको उनको आरोप छ। ‘ठूलो संघर्ष र बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो सम्माननीय राष्ट्रपतिज्यूबाट प्रतिनिधिसभा र राष्ट्रय सभाबाट पारित विधेयक प्रमाणीकरण गर्नुको साटो त्यसलाई फिर्ता पठाएर लाखौँ नागरिकको भविष्यमाथि खेलबाड र कुठाराघात भएको छ,’ सांसद शर्माले भनिन्। राष्ट्रपति राजनीतिक दलभन्दा माथि उठ्न नसकेको उनको आरोप छ।