सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्न प्रहरी परिचालन गरिएकोप्रति स्थानीय बासिन्दालाई चित्त बुझेको छैन । प्रहरीको आडमा जबर्जस्ती फोहोर फाल्दा अन्याय भएको उनीहरूले बताएका छन् ।
दुई–चार दिन जबर्जस्ती फोहोर फालेर दीर्घकालीन रूपमा समस्या समाधान नहुने उनीहरूको भनाइ छ । स्थानीय नवराज ढुंगानाले महानगरले यहाँको समस्या नजरअन्दाज गरेको आरोप लगाए । ‘प्रशासनको आडमा स्थानीयलाई लखेटेर साध्य लाग्दैन, यहाँको खास समस्यामा महानगर पसेकै छैन,’ ढुंगानाले भने, ‘काठमाडौंमा बसेर गरेको छलफल हामी सुन्दैनौँ ।’ उनले स्थानीयस्तरमै आएर महानगरले समस्या समाधानको बाटो खोज्नुपर्ने बताए ।
बन्चरेडाँडाकी भावना कार्कीले पनि वास्तविक समस्या समाधान नभएसम्म फोहोरको अवरोध नहट्ने बताइन् । ‘हामीहरू समस्यामा छौँ, फोहोरको गन्ध र लिच्चडले खेतीपाती हुन छाड्यो, सबैतिरबाट दुर्गन्ध मात्रै आउँछ,’ उनले भनिन्, ‘हामीले सधैँ काठमाडौंवासीको फोहोर सुँघेर बस्नुपर्ने ?’ उनले महानगरसँग यसअघि भएको १८बुँदे सहमतिपत्र कार्यान्वयन भए स्थानीयले बिहीबारदेखि नै अवरोध नगर्ने बताइन् ।