गिनिज बुकमा दर्ज भएअनुसार फ्रान्सकी जेन लुइस केलमेन्ट सर्वाधिक लामो उमेर बाँच्ने व्यक्ति हुन् । २१ फेब्रुअरी १८७५ मा जन्मिएकी यी महिला १ सय २२ वर्ष १ सय ६४ दिनसम्म बाँचेर ४ अगस्ट १९९७ मा यस संसारबाट बिदा भएकी थिइन् । दक्षिण फ्रान्सस्थित एक नर्सिङ होममा उनले अन्तिम सास लिएकी थिइन् ।
जेनको स्वास्थ्य सधैं राम्रो थियो । उनले ८५ वर्षको उमेरमा फेन्सिङ समेत खेलेकी थिइन् । ओलिभ तेलमा पकाइएको स्वस्थ्य डाइट उनी लिने गर्थिंन् । छालामा पनि यही तेल लगाउने गर्दथिइन् । उनले सधैं एक ग्लास वाइन लिने गरेकी थिइन्, तर कहिल्यै एक ग्लासभन्दा धेरै पिइनन् ।
उनलाई चकलेट मन पर्थ्यो । उनले २१ वर्षको उमेरदेखि १ सय १७ वर्ष हुदाँसम्म सिगरेट पनि पिइन् । आफ्नो १ सय १५ औं जन्मदिनको एक महिनाअघि उनी लडिन्, त्यसपछि उनको तिघ्रा फ्र्याक्चर भयो । जसकारण, उनले बाँकी जीवन ह्वीलचेयरमा बिताउनुपर्यो ।