क्रिकेट जगत्मा विनोद काम्बली नयाँ नाम होइन । सन् १९९० को दशकमा काम्बली भारतीय क्रिकेट टोलीकै मुख्य ब्याट्सम्यान थिए । बायाँहाते ब्याट्सम्यान काम्बलीले आफ्नो समयमा उत्कृष्ट बलरहरूलाई बाँकी नै राखेनन् । टेस्ट क्रिकेटमा लगातार दोहोरो शतकीय इनिङ्स खेल्ने काम्बली एक्लो भारतीय ब्याट्सम्यान हुन् ।
काम्बलीको खुबी नै आकर्षक सट खेल्ने, रणनीतिकअनुसार बलरमाथि हावी हुने र मैदानमा शान्त स्वभावमा ब्याटिङ गर्ने थियो । कुनै समय भारतीय क्रिकेटमा राज गरेका काम्बलीको वर्तमान अवस्था निकै खराब छ । भारतीय मिडियाहरूको अनुसार काम्बली अहिले लगभग बेरोजगार छन् । काम्बलीका अनन्य मित्र सचिन तेन्दुलकरले आफ्ना साथी दैनिक जीवन खराब भएको प्रतिक्रिया दिएका छन् ।
भारतीय क्रिकेट बोर्डले पूर्वराष्ट्रिय खेलाडीहरूलाई मासिक भत्ता ३० हजार भारु दिन्छ । काम्बलीले यही ३० हजार भारुले घर चलाइरहेका छन् । पेन्सनको भरमा परिवार चलाउन उनलाई गाह्रो परेको सचिनले खुलासा गरेका छन् । ‘मेरो साथी काम्बली अहिले ३० हजार पेन्सनमा जीवन बिताइरहेका छन्,’ सचिनले भने, ‘काम्बलीको दैनिक जीवन निकै खराव छ ।’
काम्बलीले भारतका विभिन्न क्लब तथा प्रान्तका क्लबसँग कामका लागि प्रस्ताव राखेका छन् । तर, कुनै पनि क्लबले उनको प्रस्ताव स्वीकार गरेका छैनन् । धेरैजसो क्लबले काम्लबीको शैली पुरानो भएको र वर्तमान समयमा उनको अनुभव फाइदाजनक नहुने बताएका छन् ।
प्रयोग धेरै, तर असफल
काम्बलीले सन् २००० को अन्त्यसम्म भारतीय टोलीबाट प्रतिस्पर्धा गरेका थिए । त्यसवेला सचिन टोलीका कप्तान भएका कारण उनी छनोटमा परे । तर, काम्लबीले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सकेका थिएनन् । जसका कारण छिटै उनी टोलीबाट बाहिरिए । भारतीय टोलीबाट बाहिरिपछि उनले त्यसपछि स्थान बनाउन सकेनन् । यसबीचमा उनले धेरै क्षेत्रमा काम गरेका थिए । तर, कुनै पनि काम्बलीले सफलता चुमेनन् । क्रिकेटपछि बलिउडमा काम्बलीले आफ्नो करिअर सुरु गरे पनि सञ्जय दत्तसँग काम्बली एक फिलिममा देखिए । बलिउडमा जम्न नसकेपछि काम्बलीले फिलिप एड गर्न थाले । स्थानीय लेभलका क्लबहरूलाई उनले प्रशिक्षण दिन थाले । उमेरसँगै काम्बलीको व्यवहारमा समेत परिवर्तन आइसकेको थियो । सन् २०१९ तिर उनले अन्तिमपटक स्थानीय टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए । उनको प्रशिक्षण तथा क्रिकेटरसँग जोडिएको प्रसंग यही नै थियो ।
स्टाइलिस क्रिकेटर
सन् १९९३ देखि २००० सम्मको यात्रामा काम्बलीलाई भारतीय टोलीमा एक स्टाइलिस क्रिकेटरका रूपमा लिइन्थ्यो । भारतीय टोलीमा फेसनको भावना ल्याउने काम्बली नै थिए । समय–समयमा काम्बलीले आफ्नो लुक्सलाई परिवर्तन गरिरहन्थे । ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहँदा काम्बलीलाई महिलाहरूले निकै पछ्याएका थिए । महिला समर्थकलाई आफूमाथि आकर्षित गर्न काम्बली लुगादेखि हेयर स्टाइलसम्म नै परिवर्तन गरेका थिए । थोरै आम्दानी हुँदा पनि घाँटीमा सुनको सिक्री, महँगो घडी तथा महँगा सनग्लास लगाउनु उनलाई त्यसवेला सामान्य नै थियो । तर, आर्थिक रूपमा कमजोर भएपछि उनले कुनै समयमा संकलन गरेका महँगा सामग्री बिक्री गरिसकेका छन् ।
काम्बलीको बिसिसिआईलाई पत्र
म एक सन्न्यास लिएको खेलाडी हुँ । अहिले मेरो परिवार बिसिसिआईको पेन्सनमै चलिरहेको छ । पेन्सन नै मेरो महिनाको कमाइ हो । यसबाहेक मेरो अरू आम्दानीको स्रोत छैन । अहिले परिवार चलाउन मलाई काम चाहिएको छ । मेरो प्रयास भनेको युवा क्रिकेटरलाई सहयोग गर्नु हो । यदि बोर्डले मेरो योगदान सम्झिएको छ भने मलाई काम दिनुस् ।
सचिनसँगको कीर्तिमानी साझेदारी
भारतमा मात्र नभएर काम्बली र सचिनको मित्रता विश्व क्रिकेटमै प्रख्यात छ । यी दुवैले सानै उमेरदेखि सँगै क्रिकेट खेलेका थिए । काम्बली र सचिनले स्कुल लेभलमा एक कीर्तिमान नै राखेका छन् । ३४ वर्षअघि सचिन र काम्बलीले एकै खेलमा ६ सय ६४ रनको साझेदारी गरेका थिए । त्यो समयमा यो साझेदारीले विश्व नै हल्लाएको थियो । प्रतिस्पर्धामा काम्बलीले तीन सय ४९ रन तथा सचिनले नटआउट तीन सय २६ रन जोडेका थिए । यति मात्र होइन, काम्बली र सचिनबीचको ओपनिङ जोडी पनि स्कुल लेभलमा अद्भूत थियो । दुवैले लगातार सात खेलमा सात सय ९३ रनको साझेदारी गरेका थिए ।